पोखरा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको अबको मुख्य लक्ष्य प्रतिनिधिसभामा १५१ सिट हासिल गर्नु रहेको बताएका छन्। पोखरामा शनिबार आयोजित सदस्य भेटघाट तथा वृहत पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले विगतको संसदीय अनुभवका आधारमा रास्वपा ठूलो लक्ष्यसहित अघि बढेको स्पष्ट पारे।
उनले रास्वपा अब २० वा २१ सिटमै सीमित हुने पार्टी नभएको उल्लेख गर्दै भने,
‘अब हामी २०/२१ सिट होइन, अबको राष्ट्रिय स्वतन्त्र पार्टीको लक्ष्य भनेको १५१ सिट हो। २१ बाट १५१ सिट।’
वाग्लेले २१ सिटबाट ५०–६० सिटसम्मको लक्ष्य स्वाभाविक देखिए पनि पार्टीले जानाजान १५१ सिटको लक्ष्य लिएको बताए। यसका पछाडि संसदमा भोगेको “पीडादायी अनुभव” प्रमुख कारण रहेको उनको भनाइ थियो।
‘२१ बाट १५१ नै किन भनियो भने, यसको पछाडि हाम्रो विगतको संसदमा एउटा पीडादायी अनुभव छ,’ उनले भने।
उपसभापति वाग्लेले रास्वपाको राजनीतिक दर्शन व्यक्ति वा दलभन्दा माथि देश र नागरिक रहेको बताए। पुराना राजनीतिक दलहरूले गरेका कमजोरी र गल्तीबाट सिक्दै नयाँ, उन्नत र सुसंस्कृत राजनीतिक अभ्यास स्थापित गर्ने उद्देश्यसहित रास्वपा अघि बढेको उनको भनाइ छ।
‘रास्वपा व्यक्तिमाथि दल र दलभन्दा माथि मुलुक हुनुपर्छ भन्ने मान्यतामा अघि बढेको पार्टी हो,’ उनले भने, ‘पुराना दलहरूले गरेका गल्तीबाट सिकेर राजनीतिलाई उन्नत र सुसंस्कृत बनाउने महान् उद्देश्य बोकेर हामी अघि बढेका छौं।’
कार्यक्रममा विभिन्न दल परित्याग गरी रास्वपामा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरूलाई स्वागत गरिएको थियो। पार्टी नेतृत्वले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै संगठन विस्तार र जनसम्पर्क अभियानलाई तीव्र बनाउने संकेत समेत गरेको छ।






