काठमाडौँ– काठमाडौंका विभिन्न होटलमा ग्राहकको मागअनुसार युवती सप्लाई गर्ने धन्दामा संलग्न रहेको आरोपमा पक्राउ परेका एक युवक कारागार चलान भएका छन्।
दोलखाको मेलुङ गाउँपालिका–१ पवटी घर भई हाल बूढानिलकण्ठ नगरपालिका–६ कपन बस्दै आएका ३९ वर्षीय आकाश भनिने कुलबहादुर कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको बिहीबारको इजलासले उनलाई मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
अदालतको आदेशपछि कार्कीलाई सुन्धारास्थित केन्द्रीय कारागार जगन्नाथदेवल पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कार्कीले आफ्नै कार प्रयोग गरी युवतीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न होटलहरूमा पुर्याउने र त्यसबापत ग्राहकबाट मोटो रकम असुल्ने गरेका थिए। उनले ठमेल, गौशाला, गोंगबु तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका होटलहरूमा युवती सप्लाई गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।
कार्कीलाई प्रहरी वृत्त गौशालाको टोलीले २० मंसिरमा काठमाडौं महानगरपालिका–९ सरस्वतीनगर क्षेत्रबाट पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा उनले होटलका कर्मचारी, ग्राहक खोज्ने एजेन्ट तथा ट्याक्सी चालकहरूसँग समेत सम्पर्क राखी युवती सप्लाईको सञ्जाल विस्तार गरेको पाइएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार करिब ५० जना युवतीका तस्वीरहरू कार्कीले होटलसँग सम्बन्धित व्यक्ति तथा ट्याक्सी चालकहरूलाई उपलब्ध गराउने गरेको खुलेको छ। यही माध्यमबाट ग्राहक र युवतीबीच सम्पर्क गराइदिने तथा आफू बीचमा बसेर रकम असुल्ने गरेको आरोप छ।
कार्कीविरुद्ध दुई युवतीले प्रहरीमा जाहेरी दिएका थिए। ती युवतीहरूले आफूहरूलाई प्रलोभनमा पारेर यौनधन्दामा लगाइएको भन्दै उजुरी दिएका हुन्। जाहेरी अनुसार कार्कीले १९ मंसिरमा ती युवतीलाई बागमती प्रदेश ०१–०९४८ नम्बरको कारमा राखी काठमाडौं महानगरपालिका–९ विजयचोक पुर्याएर ग्राहकसँग सम्पर्क गराइदिएका थिए।
पछि आफूहरूलाई जबरजस्ती यौनधन्दामा लगाइएको भन्दै पीडित महिलाले प्रहरीलाई खबर गरेपछि उनीहरूको उद्धार गरिएको थियो। उद्धारपछि पीडितको जाहेरीका आधारमा प्रहरीले कार्कीलाई २० मंसिरमा कालोपुल क्षेत्रबाट पक्राउ गरेको थियो।
प्रहरीले यस घटनालाई मानव बेचबिखन तथा संगठित यौनधन्दासँग जोडेर थप अनुसन्धान गरिरहेको जनाएको छ।






