काठमाडौं । गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभाको आगामी निर्वाचनका लागि नेकपा एमालेले मिलन गुरुङ उर्फ ‘चक्रे मिलन’ लाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरेको छ । आपराधिक तथा गुण्डागर्दी पृष्ठभूमिका कारण चर्चामा रहेका गुरुङलाई उम्मेदवार सिफारिस गरेपछि राजनीतिक वृत्तमा बहस सुरु भएको छ ।
गुरुङले आफू उम्मेदवार बन्ने निर्णय व्यक्तिगत चाहनाभन्दा पनि आम जनसमुदाय, विशेषगरी युवा तथा ‘जेनजी’ पुस्ताको निरन्तर आग्रह र दबाबका कारण लिएको दाबी गरेका छन् । उनले २०५० सालतिरदेखि नै नेकपा एमालेमा सक्रिय रहँदै पार्टीसँग निरन्तर आबद्ध भएर समाजसेवा र राजनीतिमा क्रियाशील रहेको बताएका छन् ।
उनको उम्मेदवारीबारे प्रतिक्रिया दिँदै गोरखाका युवा नेता प्रविण अधिकारीले निस्वार्थ रूपमा राजनीति र समाजसेवामा लाग्ने व्यक्तिलाई स्वागत गर्नुपर्ने धारणा राखेका छन् ।
तर, एमालेको सिफारिसमा परेका गुरुङ विवादै–विवादले घेरिएका पात्रका रूपमा चिनिन्छन् । उनी पटक–पटक पक्राउ पर्दै हिरासत र जेलसम्म पुगेका छन् । पछिल्लो पटक गत साउनमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई महाराजगञ्जको एक होटलबाट पक्राउ गरेको थियो । सर्वसाधारणलाई आतंकित पार्ने गतिविधिमा संलग्न भएको आरोपमा उनी धरौटीमा छुटेका थिए ।
यसअघि उनीविरुद्ध भक्तपुरमा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा समेत चलेको थियो । प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) अनुसार गुरुङविरुद्ध अहिलेसम्म १२ पटकभन्दा बढी मुद्दा दर्ता भएका छन् ।
कुनै समय दिवंगत एमाले नेता प्रदीप नेपालका निकट सहयोगी मानिने गुरुङ पछि ‘चक्रे मिलन’ नामले अपराधको दुनियाँमा परिचित बने । गोरखा सिरानचोक गाउँपालिका–५ छोप्राक घर भएका उनी काठमाडौंको महाराजगञ्ज क्षेत्रलाई आधार बनाएर विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लाग्दै आएको छ ।
गुन्डाविरुद्ध प्रहरीले कडा नीति लिएको २०७१/७३ पछि उनले आफ्नो गतिविधि कम गर्दै राजनीतिमा सक्रियता बढाएको देखिन्छ । यसअघि पनि उनी एमालेबाट प्रदेश तहको निर्वाचनका लागि सिफारिस भए पनि टिकट पाउन सकेका थिएनन् ।
आफूमाथि लागेको ‘गुण्डा’ आरोपबारे प्रतिक्रिया दिँदै गुरुङ भन्छन्, “म लामो समयदेखि समाजसेवामा सक्रिय छु । कहिलेकाहीँ राजनीतिक रूपमा बदनाम गर्न यस्तो आरोप लगाइन्छ । म समाजको सेवा गर्छु भन्न पनि नपाइने अवस्था बनाइयो ।”
उनले गोरखाली जनताले आफूलाई जिताएर संसदमा पठाउनेमा आफू ढुक्क रहेको दाबी गरेका छन् ।






