गायिका ज्योति मगर र लोकगायक बद्री पंगेनीको संयुक्त प्रस्तुति बुटवलमा आयोजित औद्योगिक प्रदर्शनीमा दर्शकको ध्यानको केन्द्र बनेको छ । उनीहरूको प्रस्तुति क्रममा खिचिएको एक भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेको छ ।

ज्योति मगर र बद्री पंगेनीको सहगायन रहेको गीत ‘बाहुनको जुंगा छातीका रौँ राम्रो…’ पछिल्लो समय चर्चित बनेपछि उनीहरूलाई एकसाथ स्टेजमा हेर्ने दर्शकको उत्सुकता बढेको थियो । सोही कारण बुटवल औद्योगिक प्रदर्शनीमा उनीहरू मुख्य आकर्षणका रूपमा प्रस्तुत भएका हुन् ।

पुस १५ गते सार्वजनिक बिदाको दिन आयोजित कार्यक्रममा दर्शकको उल्लेख्य उपस्थिति थियो । कार्यक्रमको सुरुवात बद्री पंगेनीले गरेका थिए । उनी नेपाली मौलिक पोसाक दौरा–सुरुवालमा स्टेजमा देखिएका थिए । त्यसपछि गायिका ज्योति मगर आफ्नो विशिष्ट शैलीमा स्टेज प्रवेश गरिन् ।

प्रस्तुतिका क्रममा चिसो मौसमका बाबजुद ज्योतिले कोट फुकालेर गीत गाइन् । यही क्रममा बद्री पंगेनीले ज्योतितर्फ गएर पातलो सल उनको कम्मरमा बेरिदिएका थिए । सो दृश्यलाई दर्शकले हुटिङ र तालीमार्फत प्रतिक्रिया दिएका थिए । उक्त क्षणको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ ।

कार्यक्रमका दौरान ज्योतिले दर्शकसँग ठट्टामिश्रित संवाद पनि गरिन् । उनले आफ्नै शैलीमा प्रतिक्रिया दिँदा दर्शक थप उत्साहित भएका थिए । करिब एक घण्टासम्म चलेको उनको प्रस्तुतिमा दर्शकको उत्साह निरन्तर देखिन्थ्यो ।

आयोजक समितिका सांस्कृतिक संयोजक लालप्रसाद बस्यालका अनुसार सुरुमा ज्योति मगर कार्यक्रमको सूचीमा नरहे पनि दर्शकको माग बढेपछि अन्तिम समयमा उनलाई निम्त्याइएको थियो । “दर्शकको चाहनाअनुसार कलाकार थप्दा कार्यक्रम झनै सफल भयो,” उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय