काठमाडौं – संगठित रूपमा ठगी गरेको आरोपमा दायर मुद्दामा रवि लामिछाने, छविलाल जोशी, सुनिता नेवा र कमल लामाविरुद्ध काठमाडौं जिल्ला अदालतले दिएको धरौटी आदेशलाई उच्च अदालत पाटनले सदर गरेको छ । उच्च अदालतले जिल्ला अदालतको आदेश कानुनसम्मत देखिएको ठहर गर्दै आदेश परिवर्तन गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेको हो ।

उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र दीपककुमार खरेलको संयुक्त इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ अनुसार जिल्ला अदालतले माग गरेको धरौटी गैरकानुनी नरहेको निष्कर्ष निकालेको छ ।

यो मुद्दा संगठित रूपमा आर्थिक ठगी गरेको कसूरसँग सम्बन्धित रहेको छ । जाहेरीकर्ता सुमन खनाललगायतको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको यस मुद्दामा प्रतिवादीहरूविरुद्ध संगठित ढंगले आर्थिक ठगी गरेको आरोप लगाइएको छ ।

काठमाडौं जिल्ला अदालतले जाहेरी विवरण, प्रतिवादीहरूको बयान, रकम प्रयोगको अवस्था तथा संलग्नताको प्रारम्भिक मूल्याङ्कन गर्दै पुर्पक्षका लागि धरौटी माग गर्ने आदेश दिएको थियो । सोही आदेशविरुद्ध प्रतिवादी पक्ष उच्च अदालत पाटन पुगेका थिए ।

उच्च अदालतमा भएको सुनुवाइमा नेपाल सरकारको तर्फबाट उच्च सरकारी वकिल कार्यालय पाटनका उप–न्यायाधिवक्ता मोहन खनाल र सहायक न्यायाधिवक्ता अञ्जली शर्माले बहस गरेका थिए । जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेशमणि त्रिपाठी तथा प्रतिवादी रवि लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय सुशीलकुमार पन्त र सुरेन्द्र थापा, अधिवक्ता डा. नारायणदत्त कँडेलले बहस गरेका थिए । छविलाल जोशीको तर्फबाट अधिवक्ता अपूर्व खतिवडाले बहस गरेका थिए ।

बहसपछि इजलासले प्रतिवादीहरू धरौटी बुझाएर तारिखमा बसिरहेको अवस्था र मुद्दाको थप प्रमाण संकलन प्रक्रिया जारी रहेकाले अहिले नै जिल्ला अदालतको आदेश परिवर्तन गर्नुपर्ने नदेखिएको ठहर गरेको हो ।

उच्च अदालतको आदेशमा भनिएको छ, “जिल्ला अदालतले गरेको धरौटी आदेश मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम बेरितको नदेखिँदा परिवर्तन गरिरहनु पर्ने देखिन आएन ।”

यससँगै रवि लामिछानेसहित सबै प्रतिवादी धरौटी बुझाएर तारिखमा बस्ने व्यवस्था यथावत् रहने भएको छ । अब यो मुद्दा काठमाडौं जिल्ला अदालतमा थप प्रमाण संकलन, साक्षी बयान तथा कानुनी प्रक्रियामार्फत अन्तिम फैसलातर्फ अघि बढ्नेछ । अदालतको अन्तिम निर्णय नआएसम्म प्रतिवादीहरू धरौटी र तारिखको शर्तमा रहनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय