काठमाडौं । ‘हनी ट्र्याप’मा पारेर काठमाडौं कीर्तिपुर नगरपालिका–५ का ५० वर्षीय विनोद खड्गीको अपहरणपछि हत्या गरेको अभियोगमा संलग्न तीन जनालाई अदालतले जन्मकैदको सजाय सुनाएको छ ।
काभ्रेपलाञ्चोक जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले सोमबार उक्त फैसला सुनाएको हो । अदालतका स्रेस्तेदार इन्दिरा कार्कीका अनुसार सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–२ घर भई हाल मध्यपुर ठिमी–९ बस्ने मनिषा महत, महोत्तरी गौशाला–६ घर भई हाल भक्तपुर कौशलटार बस्ने आशिष पासवान र बाग्लुङ गलकोट–७ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने प्रतीक गौतमलाई जन्मकैदको सजाय तोकिएको छ ।
अदालतले उनीहरूबाट पीडित परिवारलाई जनही दुई–दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश दिएको छ । साथै, जनही २८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्न पनि आदेश गरिएको छ ।
यसै प्रकरणमा अभियुक्त रोशनी महत, सञ्जय खत्री, मेनुका महत र दिपेश पौडेलले भने सफाइ पाएका छन् । मतियारको रूपमा मुद्दा चलाइएका काठमाडौं शंकरापुर–५ का सरिन घिमिरेलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि छुट्टै पेशी तोकिएको छ । घटनामा संलग्न भनिएका अंशु खान र शिवम सिंह राजपुत भने फरार छन् ।
प्रहरी अनुसन्धान अनुसार कीर्तिपुर–५ मा मासु पसल सञ्चालन गर्दै आएका विनोद खड्गीलाई २०८१ असोज ५ गते राति ‘नागरिकता बनाउन सहयोग गर्ने’ बहानामा बोलाएर रक्सी खुवाइएको थियो । त्यसपछि हातखुट्टा बाँधेर सुरुमा ३० लाख रुपैयाँ फिरौती माग गरिएको थियो । पछि १० लाखमा झरेको माग अन्ततः पाँच लाख रुपैयाँमा सहमति भएको थियो ।
खड्गीले आफ्नो कर्मचारीमार्फत भक्तपुर राधेराधेस्थित भाटभटेनी सुपरमार्केट अगाडि पाँच लाख रुपैयाँ बुझाएका थिए । तर, रकम लिइसकेपछि पोल खुल्ने डरले सोही राति उनलाई कुटपिट गरी हत्या गरिएको प्रहरी अनुसन्धान रिपोर्टमा उल्लेख छ ।
हातखुट्टा बाँधेर भक्तपुरको गुण्डु पुर्याइ खड्गीको छाती लगायत संवेदनशील अंगमा इँट्टाले हानी हत्या गरिएको थियो । त्यसपछि शवलाई काभ्रेको पाँचखाल नगरपालिका–८ स्थित ४९ किलो क्षेत्रमा फ्याँकिएको थियो ।
हत्या पश्चात् अभियुक्तहरूले फिरौतीको रकम बाँडफाँड गरेको खुलेको छ । अनुसन्धान अनुसार अंशुले मनिषालाई १ लाख, प्रतीकलाई १० हजार, आशिषलाई २० हजार र रोशनी महतलाई ५० हजार रुपैयाँ दिएका थिए ।
अनुसन्धानकै क्रममा मनिषा महत भारतीय नागरिकहरूसँग मिलेर भारतमा समेत लुटपाटमा संलग्न रहेको खुलेको छ । तीन महिना अघि ग्रेटर नोएडामा ‘तुसार’ नामक व्यक्तिलाई कुटपिट गरी १ लाख ५० हजार रुपैयाँ लुटिएको पुष्टि भएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार भारतबाट फर्किएपछि पनि उनी धनी व्यक्तिलाई ‘हनी ट्र्याप’मा पारेर रकम असुल्ने गिरोहमा सक्रिय थिइन् ।






