धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको एकताको कडा आलोचना गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश सार्वजनिक गर्दै साम्पाङले उक्त एकतालाई ‘सत्ताका लागि गरिएको सम्झौता’ र ‘विदेशी हस्तक्षेपलाई संस्थागत गर्ने प्रयास’ को संज्ञा दिएका छन् ।
‘कुर्सीका लागि र यो देशलाई लिलाम गर्नका लागि,’ साम्पाङले भिडियोमा भनेका छन्, ‘विदेशी हालीमुहाली हामीले प्रत्यक्ष महसुस गरिसकेका छौँ, अब त्यसलाई संस्थागत गर्न खोजिँदैछ ।’
यद्यपि उनले भिडियोमा रवि लामिछाने र बालेन शाहको नाम प्रत्यक्ष नलिएको भए पनि सन्दर्भ स्पष्ट रूपमा उनीहरूतर्फ लक्षित रहेको देखिन्छ ।
मेयर साम्पाङले बालेन शाहलाई लक्षित गर्दै जेन–जी आन्दोलनका क्रममा देश अशान्त बन्दा मौन बसेको आरोपसमेत लगाए । उनले बालेनलाई ‘भित्र–भित्र बसेर डरलाग्दो खेल खेल्ने’ र ‘लुकेर राजनीति गर्ने’ व्यक्ति भएको टिप्पणी गरेका छन् ।
‘जेन–जीलाई उक्साएर सडकमा पठाइयो, ७०–८० जना हताहत भए, देश जल्दा टुलुटुलु हेरेर बसियो,’ साम्पाङले भने, ‘सरकार चलाइदिनुपर्यो भनेर आग्रह गर्दा पनि बाहिर आएनन् ।’
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्–’हाहा… जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ ! फटाहाहरू… सिंहदरबार जलाउने र जेनजीको हत्या गर्नेहरूले विदेशीको इशारामा देश चलाउने रे !’






