काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार बसेको केन्द्रीय समिति बैठकमा पार्टीको वर्तमान अवस्था, भावी रणनीति र संगठनात्मक अनुशासनबारे गहन छलफल भएको छ।
सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको बैठकमा उनले कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालप्रति विशेष आभार व्यक्त गर्दै पार्टीलाई कठिन परिस्थितिमा पनि संगठित र अनुशासित रूपमा अघि बढाएकोमा धन्यवाद दिए।
लामिछानेले पार्टी नेतृत्व, केन्द्रीय समिति, प्रदेश तथा स्थानीय तहसम्म जिम्मेवारीमा रहेका सम्पूर्ण नेता–कार्यकर्ताप्रति कृतज्ञता प्रकट गर्दै भने,
“हामी अहिले उत्साहित हुन सक्छौँ, तर उत्सव मनाउने बेला होइन। अझै धेरै संघर्ष र जिम्मेवारी बाँकी छन्।”
बैठकमा उनले पार्टीभित्र संयम, अनुशासन र जिम्मेवार अभिव्यक्तिको आवश्यकता औँल्याउँदै सबैलाई सचेत रहन आग्रह गरे।
यस क्रममा सभापति लामिछाने भावुक बने। उनले आफू नख्खु कारागारमा रहँदा कार्यवाहक सभापति डीपी अर्यालले भेट्न आएको एक प्रसंग सुनाउँदै भने,
“उहाँले भन्नुभयो— पार्टीको नेतृत्व कार्यवाहकलाई दिइएको छ भने कारागारको बसाइ पनि कार्यवाहकलाई दिन मिल्दैन र? देशलाई अहिले तपाईंको खाँचो छ, तपाईं बाहिर जानुस्, म भित्र बस्न तयार छु।”
लामिछानेले उक्त प्रसंग स्मरण गर्दै पार्टीभित्रको त्याग, विश्वास र नेतृत्वप्रतिको प्रतिबद्धता नै रास्वपाको वास्तविक शक्ति भएको बताए।
बैठकमा आगामी राजनीतिक परिस्थिति, जनआन्दोलन, सुशासन, संगठन सुदृढीकरण र पार्टीको भूमिकाबारे पनि छलफल भएको जनाइएको छ।






