नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलन जाँचबुझ आयोगलाई कुनै पनि हालतमा बयान नदिने स्पष्ट अडान लिएका छन्। आयोगले तत्कालीन प्रधानमन्त्रीको हैसियतमा बयान लिने तयारी गरिरहेको चर्चा चलिरहेका बेला ओलीले आफू त्यसका लागि तयार नरहेको बताएका हुन्।
तेस्रो पटक एमाले अध्यक्ष निर्वाचित भएपछि पहिलोपटक हिमालय टिभीको कार्यक्रम ‘यक्ष प्रश्न’ मा पत्रकार निमेष बन्जाडेसँगको अन्तर्वार्तामा ओलीले कडा प्रतिक्रिया दिएका छन्। बयान दिन दबाब आए आफू गोली खान र जेल जान समेत तयार रहेको उनले दाबी गरे।
सरकार पक्षबाट ‘बयान नदिए जसरी पनि ल्याउँछौँ’ भन्ने भाषा प्रयोग भइरहेको सन्दर्भमा ओलीले भने,
‘बयान दिन मानेन भने गोली ठोकै हुन्छ नि। यत्रो कसुर गर्ने, बयान दिन नमान्ने, नतिजा आइसकेपछि फेरि जाँच दिन्न भन्ने? यत्रो कसुर गर्नेलाई त गोली हान्दिनु नि।’
ओलीले बयान दिने कुरा व्यक्तिको स्वेच्छामा निर्भर हुने उल्लेख गर्दै आयोगका प्रतिनिधि आफ्नै घर आए चिया खुवाएर पठाउने समेत टिप्पणी गरे।
‘मैले कति पटक भनिसकेँ, बयान दिनुपर्दैन। तपाईंहरूले नतिजा निकालिसक्नुभएको छ, फेरि जाँच म किन दिने?’ उनले भने।
उनले आयोगसँग संवाद नतोडिएको तर बयान दिनु अनिवार्य नभएको धारणा राखे। ओलीको यो अभिव्यक्तिले जेनजी आन्दोलन र त्यससम्बन्धी जाँच प्रक्रियामा थप राजनीतिक तरंग पैदा गरेको छ।
उक्त अन्तर्वार्ताको पूरा अंश आज राति ९ बजेपछि हिमालय टेलिभिजनमा प्रशारण हुने जनाइएको छ।






