पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई तोशाखाना भ्रष्टाचार मुद्दामा अदालतले १७–१७ वर्षको कठोर कारावास सजाय सुनाएको छ। साथै दुवैलाई १ करोड ६४ लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि तोकिएको छ।
शनिबार (डिसेम्बर २०) रावलपिण्डीस्थित अडियाला जेलमै बसेको विशेष अदालतले यो फैसला सुनाएको हो। इमरान खान हाल यही जेलमा थुनामा छन्।
अदालतका अनुसार, सन् २०२१ मा साउदी अरबका युवराजबाट प्राप्त बुलगारी ब्रान्डको महँगो आभूषण सेट तोशाखाना नियमविपरीत अत्यन्तै कम मूल्यमा खरिद गरिएको थियो। अभियोजन पक्षले करिब ३ लाख ८० हजार युरो मूल्य पर्ने गहना करिब २९ लाख पाकिस्तानी रुपैयाँमै लिइएको दाबी गरेको छ, जसले सरकारी ढुकुटीमा करोडौंको क्षति पुर्याएको जनाइएको छ।
न्यायाधीश शाहरुख अर्जुमन्दले विश्वासघात अभियोगमा १० वर्ष र भ्रष्टाचार निवारण ऐनअन्तर्गत थप ७ वर्ष सजाय सुनाएका हुन्। जरिवाना नतिरे सजाय थपिने चेतावनी समेत अदालतले दिएको छ।
इमरान खान र बुशरा बीबीका वकिलहरूले यो फैसला राजनीतिक रूपमा प्रेरित र आधारहीन भएको दाबी गर्दै उच्च अदालतमा अपिल गर्ने बताएका छन्।
पूर्व क्रिकेट कप्तानसमेत रहेका इमरान खान सन् २०१८ देखि २०२२ सम्म पाकिस्तानका प्रधानमन्त्री थिए। अप्रिल २०२२ मा अविश्वास प्रस्तावमार्फत सत्ता बाहिरिएपछि उनीमाथि एकपछि अर्को कानुनी मुद्दा लाग्दै आएका छन्।
इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले यस फैसलालाई राजनीतिक आक्रमणको संज्ञा दिएको छ। पार्टीका अनुसार सेना र विपक्षी शक्तिहरू मिलेर इमरान खानलाई राजनीतिबाट हटाउने षड्यन्त्र गरिरहेका छन्।
फैसलापछि पाकिस्तानका विभिन्न सहरमा पीटीआई समर्थकहरूले व्यापक प्रदर्शन सुरु गरेका छन्, जसका कारण सुरक्षा सतर्कता समेत बढाइएको छ।






