काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेन–जी आन्दोलनका शहीद परिवारसँग भेटका क्रममा भावुक बनेका छन्। शनिबार चितवनबाट काठमाडौं फर्किएलगत्तै उनी बबरमहलस्थित जेन–जी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय पुगेर शहीद परिवारसँग छलफलमा सहभागी भएका हुन्।

शहीद परिवारका पीडादायी अनुभव र आफ्ना सन्तान गुमाउँदाको कथा सुन्दै गर्दा लामिछाने भावविह्वल बनेर धुरुधुरु रोएको दृश्यले उपस्थित सबैलाई भावुक बनाएको थियो। मेरो छोरो तपाईँको फ्यान थियो भन्दै आमा रोएपछि भक्कानिएका थिए । हिरासतबाट मुक्त भएपछि आफ्नो पहिलो प्राथमिकता शहीद परिवार, विशेषतः आमाहरूको पीडामा साथ दिनु रहेको भन्दै उनी भावुक मुद्रामा कार्यालय पुगेका थिए।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले जेन–जी आन्दोलनका क्रममा युवाहरूलाई योजनाबद्ध रूपमा हत्या गरिएको आरोप लगाए। उनले शहीद परिवारको न्यायका लागि अन्तिमसम्म लड्ने प्रतिबद्धता जनाउँदै भने,
“छानिछानी हत्या हुँदासमेत सरकारले कारबाही अघि नबढाउनु गम्भीर विषय हो। शहीद परिवारको न्यायका लागि रास्वपा सधैं अग्रपंक्तिमा उभिन्छ।”

उनले सुशासन कायम गर्ने सवालमा सरकारलाई रास्वपाको पूर्ण साथ रहने स्पष्ट पारे। साथै, जेन–जी आन्दोलन र शहीद परिवारका माग पूरा गराउन पार्टी र आफ्नो पूर्ण ऐक्यबद्धता रहेको जिकिर गरे।

यसअघि चितवनमा आयोजित पार्टी कार्यक्रममा पनि लामिछानेले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउने युवाहरूका सपना र बलिदान खेर जान नदिने दृढ अडान व्यक्त गरेका थिए। उनले भनेका थिए,
“एउटा छोरो ढल्यो होला, तर देशभर लाखौँ छोराहरू शहीद परिवारको साथमा छन्। अब शहीदकी आमाले शिर ठाडो पार्नुपर्छ।”

लामिछानेले आन्दोलनका क्रममा घाइते भएका युवाहरूको शरीरमा रहेका गोलीका छर्राहरूले सिङ्गो देशलाई पीडा दिएको उल्लेख गर्दै उनीहरूको उपचार, न्याय र पुनःस्थापनाका लागि पार्टीले सक्रिय पहल गर्ने प्रतिबद्धता जनाए।

उनले जेन–जी अभियन्ता, नयाँ पुस्ता र परिवर्तन चाहने सबै नागरिकलाई एकताबद्ध गर्दै देश परिवर्तनको अभियानलाई अझ सशक्त बनाइने विश्वास दिलाए।

प्रतिक्रिया

सम्बन्धित खवर