काठमाडौं। धरौटीमा रिहा भएर चितवनबाट काठमाडौं ओर्लिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेन–जी आन्दोलनका शहीद परिवारलाई भेट्न पुगेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरूको भव्य स्वागतपछि लामिछाने सिधै बबरमहलस्थित जेन–जी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय पुगेका हुन्।

हिरासतबाट मुक्त भएपछि आफ्नो पहिलो प्राथमिकता शहीद परिवार, विशेषतः आमाहरूको पीडामा साथ दिने रहेको भन्दै उनी भावुक मुद्रामा कार्यालय पुगेका थिए। भेटका क्रममा उनले शहीद परिवारको आँसु पुछ्दै न्याय र सम्मानका लागि निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गरे।

यसअघि चितवनमा आयोजित पार्टी कार्यक्रममा लामिछानेले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउने युवाहरूका सपना र बलिदानलाई खेर जान नदिने स्पष्ट अडान व्यक्त गरेका थिए।
उनले भनेका थिए,

‘एउटा छोरो ढल्यो होला, तर देशभर लाखौँ छोराहरू शहीद परिवारको साथमा छन्। अब शहीदकी आमाले शिर ठाडो पार्नुपर्छ।’

लामिछानेले शहीदहरूको रगत र बलिदानको एक अंश पनि खेर जान नदिने उल्लेख गर्दै देशभरका युवाहरू शहीद परिवारको साथमा उभिएको सन्देश दिए।

उनले आन्दोलनका क्रममा घाइते भएका युवाहरूको शरीरमा रहेका गोलीका छर्राले सिङ्गो देशलाई पीडा दिएको टिप्पणी गर्दै घाइतेहरूको उपचार, न्याय र पुनःस्थापनाका लागि पार्टीले सक्रिय पहल गर्ने बताए।

जेन–जी अभियन्ता, नयाँ पुस्ता र परिवर्तन चाहने सबै नागरिकलाई एकताबद्ध गर्दै अगाडि बढ्ने आफ्नो प्रतिबद्धता पनि उनले दोहोर्‍याए।

प्रतिक्रिया

सम्बन्धित खवर