चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (शनिबार) चितवनमा आयोजित पार्टी कार्यक्रममा सहभागी हुने भएका छन् ।

रास्वपाले भरतपुर महानगरपालिका–चौबिसकोटीमा बिहान ११ बजे आयोजना गर्न लागेको कार्यक्रममा सभापति लामिछानेको विशेष तथा छोटो सम्बोधन रहने पार्टीले जनाएको छ ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार कार्यक्रमपछि सभापति लामिछाने दिउँसो काठमाडौं फर्किनेछन् । काठमाडौं फर्किएसँगै उनले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूसँग भेटघाट गर्ने कार्यक्रमको औपचारिक सुरुवात गर्नेछन् ।

प्रवक्ता झाले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै लेखेका छन्,
“भोलि दिउँसो ३ बजे सभापति रवि लामिछानेज्यूलाई पार्टी केन्द्रीय कार्यालय, बनस्थलीस्थित घण्टीघरमा स्वागत गरिनेछ।”

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका लामिछाने शुक्रबार मात्रै धरौटी रकम बुझाएर शर्तसहित रिहा भएका थिए ।

उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले बिगो बराबरको धरौटीमा उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।

रिहाइपछि लामिछानेले आफूले अझै न्याय नपाएको प्रतिक्रिया दिएका थिए । समर्थकहरूलाई सम्बोधन गर्दै उनले भनेका थिए,
“मलाई गरिएको अन्यायभन्दा ठूलो अन्याय अहिले देशलाई भइरहेको छ। हिसाब गर्न बाँकी छ, बोल्न बाँकी छ।”

चितवनको कार्यक्रम र त्यसपछि जेनजी आन्दोलनका शहीद परिवारसँग हुने भेटघाटलाई रास्वपाले राजनीतिक रूपमा अर्थपूर्ण सन्देशका रूपमा हेरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय