काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी बैठकको अनुशासन र सार्वजनिक अभिव्यक्तिबारे केन्द्रीय सदस्यहरूलाई कडा निर्देशन दिएका छन्।
नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सार्वजनिक सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पार्टीको प्रतिष्ठामा आँच पुग्ने कुनै पनि अभिव्यक्ति नदिन आग्रह गरेका हुन्।

अध्यक्ष ओलीले एमाले लोकतान्त्रिक पार्टी भए पनि नीति, निर्णय र सामूहिक हितविपरीतका अभिव्यक्तिलाई स्वतन्त्रता भन्न नमिल्ने स्पष्ट पारे।
उनले पार्टी नेताहरूलाई विचार र व्यवहार दुवैमा अनुशासन कायम गर्न निर्देशन दिए।

बैठककै क्रममा मोबाइल बजेपछि ओलीले कडा शब्दमा चेतावनी दिँदै भने,
‘केन्द्रीय कमिटी बैठकमा मोबाइल बज्न हुँदैन। कोही पनि अनावश्यक बोल्न हुँदैन।’

अध्यक्ष ओलीले महाधिवेशनको चुनाव सकिएसँगै अब एमालेभित्र कुनै पनि प्यानल नरहेको दाबी गरे।
उनले भने,
‘अब एमालेमा कुनै प्यानल छैन। हामी सबै एकजुट छौं।’

उनका अनुसार पार्टी विरोधीहरूले एमालेभित्र आलोचनात्मक चेत नभएको भन्दै एकता भाँड्ने प्रयास गर्न सक्ने भए पनि त्यसबाट प्रभावित नहुन नेता–कार्यकर्तालाई आग्रह गरे।

ओलीले पार्टी नेतृत्वविरुद्ध फैलाइने आरोपप्रति संकेत गर्दै भने,
‘एमालेमा केपी ओलीको अधिनायवाद चल्छ, आलोचनात्मक चेत हरायो भन्ने आरोप लगाइन्छ। तर यस्ता कुरा पार्टी एकतामा खलल पुर्‍याउन उचालिएका हुन्।’

उनले नेतृत्वप्रति अनास्था जगाउने र पार्टी कमजोर बनाउने प्रयासहरूबाट सजग रहन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिए।

अन्त्यमा ओलीले विचार र अनुशासनमा बाँधिएको एकतामात्रै बलियो हुने उल्लेख गर्दै पार्टीलाई अनुशासन, एकता र राष्ट्रिय स्वार्थको मार्गमा अघि बढाउन सबैलाई जिम्मेवार बन्न आग्रह गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय