काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिने न्यायाधीशमाथि गम्भीर आरोप लागेको छ। मुलुक बचाउने नागरिक अभियानका प्रमुख युवराज सफलले उच्च अदालत बुटवल इजलासका दुई न्यायाधीशविरुद्ध न्याय परिषद् सचिवालयमा औपचारिक उजुरी दर्ता गराएका छन्।

शुक्रबार दर्ता गरिएको उजुरीमा न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेललाई तत्काल निलम्बन गरी कडा कारबाही गर्न माग गरिएको छ। सफलले न्यायाधीशसँग सेटिङ मिलाएर रवि लामिछाने रिहा भएको गम्भीर आरोप लगाएका छन्।

उजुरीमा उल्लेख भएअनुसार रवि लामिछानेले आफू अनुकूल न्यायाधीशको बेन्च पर्नेसम्म पेशी पटक–पटक स्थगित गराएको आरोप लगाइएको छ। उजुरीमा भनिएको छ—

“यदि अनुकूल बेन्च नपरेको खण्डमा सुनुवाइ नगराई पेशी स्थगित गर्ने र अनुकूल बेन्च परेपछि मात्र सुनुवाइ अगाडि बढाउने गरिएको देखिन्छ।”

युवराज सफलले उजुरीमा ‘बेन्च सपिङ’ (बेन्च खरिद) गरिएको आशंका समेत व्यक्त गरेका छन्।

उजुरीमा साउन १९ गते पेश भएको निवेदन तीन दिनसम्म गुपचुप राखी साउन २२ गते मात्र दर्ता गरिएको दाबी गरिएको छ। यसले न्यायिक प्रक्रियामै गम्भीर प्रश्न उठाएको सफलको भनाइ छ।

उजुरीमा बाहिर सुनिएको हल्ला उल्लेख गर्दै अनुकूल आदेश ल्याउन लाखौँ रुपैयाँ खर्च गरिएको चर्चा रहेको समेत दाबी गरिएको छ। यही योजनाअनुसार जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याएर उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको आरोप छ।

उजुरीमा न्यायाधीश बासुदेव आचार्यलाई ‘पटके न्यायाधीश’ भनेर उल्लेख गर्दै यस्तो आदेशले न्याय प्रणालीमाथि गम्भीर प्रश्न उठाएको उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय