बुटवल–तुलसीपुर उच्च अदालतको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटी रकम बुझाएर रिहा गर्न आदेश दिएको छ।
बिहीबार न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले लामिछानेले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै बिगो बराबरको धरौटी बुझाएपछि रिहा गर्न सकिने आदेश दिएको हो।
अदालतका रजिस्ट्रार अमित उप्रेतीका अनुसार जिल्ला अदालतले तोकेको धरौटी रकम र निवेदकले प्रस्ताव गरेको धरौटी स्वीकार गरिएको छ। “उहाँले पेश गर्ने भनेको धरौटी स्वीकार गर्ने आदेश भएको हो,” उप्रेतीले बताए, “जिल्ला अदालतले कायम गरेको एक करोडभन्दा बढी र निवेदकले प्रस्ताव गरेको दुई करोड ७४ लाख रुपैयाँ धरौटी बुझाएपछि रिहा गरिनेछ।”
अब लामिछानेलाई धरौटी बुझाउन जिल्ला अदालत रूपन्देहीमा पुनः निवेदन दिनुपर्नेछ। सोही प्रक्रियाअनुसार धरौटी रकम बुझाएपछि मात्र उनी रिहा हुनेछन्।






