चितवनबाट स्थलमार्ग हुँदै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुर्याइएका दुई हात्ती खगेन्द्रप्रसाद र रुद्रकलीलाई बुधबार साँझ कतार पठाइएको छ।
कतार एयरवेजको कार्गो उडान नम्बर QR–8824 अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर जहाजमार्फत साँझ ५ बजेपछि ती दुई हात्ती कतारका लागि प्रस्थान गरेका हुन्। हात्तीहरूलाई जहाजमा चढाउँदा विमानस्थल परिसरमा माला र अबिर लगाएर औपचारिक रूपमा बिदाइ गरिएको थियो।
वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले हात्तीहरूको कतार बसाइ सुखद् रहोस् भन्ने शुभकामना व्यक्त गरे। संरक्षणकर्मीहरूका अनुसार कतारमा वातानुकूलित वातावरण भएकाले हात्तीलाई तनाव (स्ट्रेस) नहुने अपेक्षा गरिएको छ।
नेपालबाट दुई जना माहुते र एक जना भेटेरिनरी प्राविधिक एक महिनासम्म कतारमै बसेर हात्तीको स्याहार–सुसार तथा स्वास्थ्य निगरानी गर्नेछन्। साथै, उनीहरूले त्यहाँका स्थानीय नागरिकलाई हात्ती व्यवस्थापनसम्बन्धी तालिम पनि दिनेछन्।
नेपाल सरकार र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा सद्भावना उपहारस्वरूप यी दुई हात्ती प्रदान गरिएको हो।
वन्यजन्तु विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेलका अनुसार खगेन्द्रप्रसाद र रुद्रकलीका लागि बुधबार रातिबाट कतार नै नयाँ घर बनेको छ। आवश्यक अध्ययन, प्रतिवेदन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनी प्रक्रियाअनुसार हात्ती हस्तान्तरण गरिएको उनले बताए।
रुद्रकली सन् २०१८ मा जन्मिएकी हुन् भने खगेन्द्रप्रसाद सन् २०१९ मा खोरखोर हात्ती प्रजनन केन्द्रमा जन्मिएका थिए।






