काठमाडौं । भदौ २३ र २४ गते भएको जेन–जी विद्रोहसँग सम्बन्धित घटनाको छानबिनका लागि गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई अर्को साता बयानका लागि बोलाउने तयारी गरेको छ।

आयोगको म्याद थपका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्न गएको आयोगको टोलीले राजनीतिक नेतृत्वका व्यक्तिहरूलाई बयानका लागि बोलाउने तयारी भइरहेको जानकारी दिएको हो।

छलफलपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले भने,
“बयान लिने काम जारी छ। त्यो समयका प्रधानमन्त्री र गृहमन्त्री दुवैलाई बयानका लागि बोलाइनेछ। सम्भवतः अर्को साता नै बोलाउने तयारी छ।”

ओली र लेखकले बयान दिन नआउने संकेत दिएका छन् भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष कार्कीले भने,
“त्यो पछिको कुरा हो, अहिले त्यसबारे केही भन्नु हुँदैन।”

आयोगका प्रवक्ता विज्ञानराज शर्माले पनि दुवै नेता बयान दिन उपस्थित हुने विश्वास व्यक्त गरे।
“उहाँहरू छिट्टै बयानका लागि आउनुहुन्छ। यस विषयमा ढुक्क हुन सक्नुहुन्छ,” उनले भने।

आयोगको कार्यकाल सकिनै लाग्दा पनि सबै बयान प्रक्रिया पूरा नभएकाले सरकारले एक महिनाको म्याद थप गर्न आयोगले आग्रह गरेको छ। आयोगका अनुसार बाँकी अनुसन्धान र निष्कर्षका लागि थप समय आवश्यक देखिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय