काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि तय गरिएको मतदान स्थगित भएको छ । अब मतदान भोलि बिहान ८ बजेदेखि सुरु हुने भएको छ ।
निवर्तमान महासचिव शंकर पोखरेलका अनुसार प्राविधिक कारणले आजका लागि मतदान स्थगित गरिएको हो । यसअघि आज बिहान १० बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका भए पनि विद्युतीय मतदान मेसिनमा उम्मेदवारको विवरण प्रविष्ट गर्ने क्रममा समस्या देखिएको जनाइएको छ ।
सुरुमा उम्मेदवारको नाम अल्फाबेटिकल क्रममा राख्ने विषयमा समस्या देखिएको र पछि फन्टसम्बन्धी प्राविधिक त्रुटि देखिएकाले मतदान प्रक्रिया रोकिएको निर्वाचन समितिले जनाएको छ ।
मतदान स्थगित भएपछि प्रतिनिधिहरू र उम्मेदवारहरू महाधिवेशनस्थलबाट तितरबितर भएका छन् । मतदानका लागि प्रतिनिधिहरू तोकिएको समयभन्दा करिब दुई घण्टाअघि नै लाइनमा बसेका थिए ।
पार्टीले सबै प्राविधिक समस्या समाधान गरी भोलि बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुचारु गरिने जनाएको छ ।






