धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ परेका छन् । नेपाल प्रहरीले उनलाई मंगलबार काठमाडौंको कपन क्षेत्रबाट पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसएसपी शिवकुमार श्रेष्ठका अनुसार ५० वर्षीय लामा ‘विश्वक्रान्ति’, ‘कुमार’ र ‘देवराज लामा’ नामले समेत चिनिँदै आएका छन् । उनी पाँचथरमा दर्ता भएको विस्फोटक पदार्थसम्बन्धी मुद्दामा फरार रहेका थिए ।

लामा यसअघि २०६८ सालमा काठमाडौंको बबरमहलमा भएको बम विस्फोट घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका थिए । उक्त विस्फोटमा तीन जनाको मृत्यु भएको थियो । सो घटनामा दोषी ठहर भई उनले नख्खु कारागारमा कैद सजाय भुक्तान गरेका थिए ।

प्रहरीका अनुसार लामा २०६९ साल असारमा पाँचथरको भुसपातेबाट विस्फोटक पदार्थसहित पक्राउ परेका थिए । उक्त मुद्दा अझै विचाराधीन अवस्थामा रहेको पाइएको सीआईबीले जनाएको छ ।

बबरमहल बम विस्फोटसम्बन्धी सजाय पूरा गरेपछि उनी २०७६ फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा रिहा भएका थिए । तर पाँचथरमा दर्ता भएको विस्फोटक पदार्थसम्बन्धी मुद्दामा फरार रहेको पुष्टि भएपछि पुनः पक्राउ गरिएको हो ।

सीआईबीले थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन उनलाई पाँचथर पठाएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय