काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) पितृशोकपछि आफ्नो नियमित कार्यमा फर्किएका छन्। बुवाको निधनपछि उनी विदामा रहेका थिए।
बुवाको १३ दिनको काजक्रिया सम्पन्न गरेपछि मेयर साह आज कार्यालय फर्किएका हुन्। उनी काठमाडौं महानगरपालिकाको ३१औँ स्थापना दिवसको कार्यक्रममा सहभागी भए।
कार्यक्रममा मेयर साहले लिखित मन्तव्य प्रस्तुत गरेका थिए। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो। सो अवसरमा मेयर साहले राष्ट्रपति पौडेलको स्वागत तथा विदाइसमेत गरेका थिए।
यसअघि लामो कपाल र दाह्री उनका पहिचान बनेका थिए। तर, पितृकाजका क्रममा उनले दाह्री–कपाल खौरिएकाले अहिले फरक स्वरूपमा देखिएका छन्।
मेयर साहका पिता रामनारायण साहको गत १५ मंसिरमा निधन भएको थियो।
पितृशोकको कठिन समयपछि पुनः जिम्मेवारीमा फर्किएका मेयर साहको उपस्थितिलाई महानगरको प्रशासनिक कामकाज पुनः नियमित हुने संकेतका रूपमा हेरिएको छ।






