सिड्नी। अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी समुद्र तटमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने करिब एक दर्जन व्यक्ति घाइते भएका छन्, अष्ट्रेलियाली अधिकारीहरूले जनाएका छन्।

गोलीबारीपछि घाइतेहरूलाई न्यु साउथ वेल्स एम्बुलेन्स सेवाको सहयोगमा स्थानीय अस्पतालहरूमा पुर्‍याइएको छ। केही घाइतेको अवस्था गम्भीर रहेको जनाइएको छ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले घटनालाई ‘स्तब्ध पार्ने र अत्यन्त पीडादायी’ भन्दै आपतकालीन उद्धारकर्मीहरू घटनास्थलमै रहेर जीवन बचाउने प्रयासमा जुटिरहेको बताएका छन्।

“आपतकालीन उद्धारकर्ताहरू जमिनमा छन् र जीवन बचाउन काम गरिरहेका छन्,” उनले भने।

गोलीकाण्डका प्रत्यक्षदर्शी ३० वर्षीय ह्यारी विल्सनलाई उद्धृत गर्दै सिड्नी मर्निङ हेराल्ड ले लेखेको छ—

“मैले कम्तीमा १० जना मानिस जमिनमा ढलेको र चारैतिर रगत लतपतिएको दृश्य देखें।”

प्रहरीले घटनामा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

इजरायली राष्ट्रपति इसाक हर्जोगले हनुक्का पर्वको पहिलो मैनबत्ती बाल्न गएका यहूदीहरूमाथि ‘नीच आतंककारीहरूले आक्रमण गरेको’ टिप्पणी गरेका छन्।
इजरायली विदेशमन्त्री गिडियन सारले पनि घटनाबाट आफू स्तब्ध भएको प्रतिक्रिया दिएका छन्।

रोयटर्सका अनुसार, अक्टोबर २०२३ मा गाजामा इजरायल–हमास युद्ध सुरु भएयता अष्ट्रेलियामा यहूदीविरोधी घटनाहरू बढ्दै आएका छन्।

विश्वकै चर्चित समुद्र तटहरूमध्ये एक बोन्डी तटमा घटनापछि आतङ्कको अवस्था सिर्जना भएको थियो।
सामाजिक सञ्जाल एक्स (X) मा प्रसारित भिडियोहरूमा समुद्र तट र नजिकैको पार्कमा मानिसहरू भागदौड गरिरहेको, धेरै गोली चलेको आवाज र प्रहरी साइरन सुनिएको देखिन्छ।

एक भिडियोमा कालो शर्ट लगाएका व्यक्तिले ठूलो हतियारबाट गोली चलाएको देखिन्छ भने अर्को दृश्यमा सेतो टी–शर्ट लगाएका एक व्यक्तिले आक्रमणकारीलाई नियन्त्रणमा लिएर हतियार खोसेको देखिएको रोयटर्सले जनाएको छ।
त्यस्तै, अर्को व्यक्तिले पैदल यात्री पुलबाट गोली चलाएको दृश्य पनि भिडियोमा देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय