सप्तरी। दुम्सी मार्ने क्रममा दुम्सीको प्वालमा अड्किएका एक पुरुषलाई सुरक्षा निकायको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ।
सप्तरीको कञ्चनरुप नगरपालिका–११ स्थित बक्सामा करिब ५० वर्षीय दिलिप रेग्मी दुम्सी मार्न प्वालभित्र छिर्ने क्रममा अड्किएका थिए। घटना भएपछि उनीसँगै गएका साथीहरूले तत्काल सुरक्षाकर्मीलाई जानकारी गराएका थिए।
सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस भारदह र सितापुरबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली तथा नेपाल प्रहरीको संयुक्त उद्धार समूह घटनास्थल पुगेको थियो।
सुरक्षाकर्मीहरूले करिब ५ घण्टा जमिनमुनि फसेका रेग्मीलाई लगभग २० मिटर गहिराइबाट सकुशल उद्धार गरेका हुन्।
उद्धारपछि रेग्मीलाई उपचारका लागि धर्मेश्वर अस्पताल, ठेलिया पठाइएको प्रहरीले जनाएको छ। उनीको अवस्था सामान्य रहेको बताइएको छ।
प्रहरीका अनुसार रेग्मी पहिलेदेखि नै दुम्सीको सिकार गर्दै आएका व्यक्ति हुन्।






