चर्चित पत्रकार राजीव खत्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने भएका छन्। उनी आगामी २ पुसमा औपचारिक रूपमा पार्टी प्रवेश गर्ने कार्यक्रम तय भएको छ।
खत्रीले पत्रकारिता पेशाबाट औपचारिक रूपमा अलग हुँदै राजनीतिमा प्रवेश गर्ने निर्णय गरेका हुन्। आफू कार्यरत न्यूज २४ टेलिभिजनबाट राजीनामा दिएको उनले पुष्टि गरेका छन्।
“म आजको मितिदेखि पत्रकारितामा संलग्न छैन। न्यूज २४ टेलिभिजनबाट राजीनामा दिएको छु,” खत्रीले बताएका छन्।
रास्वपामा प्रवेशपछि कुन जिम्मेवारी पाउने भन्ने विषयमा हालसम्म निर्णय भइसकेको छैन। यद्यपि, उनले आगामी आमनिर्वाचनमा सहभागी हुने सम्भावना खुला रहेको संकेत गरेका छन्। स्रोतका अनुसार उनी काठमाडौं क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवारी दिने इच्छुक छन्।
खत्री विगत केही समयदेखि रास्वपा तथा पार्टी सभापति रवि लामिछानेप्रति सार्वजनिक रूपमा सकारात्मक धारणा व्यक्त गर्दै आएका थिए। न्यूज २४ टेलिभिजनमा कार्यक्रम सञ्चालन गर्दै उनले राजनीतिक विषयमा तथ्यगत र सन्तुलित टिप्पणीमार्फत आफ्नो पहिचान स्थापित गरेका थिए।
स्रोतका अनुसार, रवि लामिछानेसँग भएका पटक–पटकका संवाद र छलफलपछि खत्री पार्टी प्रवेशका लागि सहमत भएका हुन्।
यसैबीच, युट्युबर भोजराज थापा पनि रास्वपामा प्रवेश गर्ने सम्भावनाबारे चर्चा भइरहेको छ। तर, उनको पार्टी प्रवेशको मिति भने तय भइसकेको छैन।






