वाशिङ्टन। अमेरिकाको ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन्।
रोड आइल्याण्ड राज्यको प्रोभिडेन्सस्थित ब्राउन युनिभर्सिटीको इन्जिनियरिङ भवनमा अन्तिम परीक्षा चलिरहेका बेला स्थानीय समयअनुसार शनिबार दिउँसो करिब ४ बजे गोली प्रहार भएको हो।
घटनापछि विश्वविद्यालय परिसर पूर्ण रूपमा ‘लकडाउन’ गरिएको छ। विश्वविद्यालय प्रशासनले विद्यार्थीहरूलाई सुरक्षित स्थानमा लुक्न, ढोका बन्द राख्न र अर्को सूचना नआएसम्म बाहिर ननिस्कन निर्देशन दिएको छ।
प्रहरीका अनुसार कालो कपडा लगाएका एक पुरुष संदिग्ध व्यक्ति गोली चलाएपछि पैदलै फरार भएका छन्। प्रारम्भिक रूपमा एक जनालाई नियन्त्रणमा लिइए पनि अनुसन्धानपछि उनी निर्दोष देखिएकाले रिहा गरिएको प्रहरीले जनाएको छ।
गोलीकाण्डमा घाइते भएका आठै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकहरूका अनुसार उनीहरूको अवस्था स्थिर भए पनि गम्भीर रहेको छ।
घटनापछि एफबीआई र स्थानीय प्रहरी टोलीले संयुक्त रूपमा व्यापक खोजी अभियान सञ्चालन गरिरहेका छन्। क्याम्पस वरपर उच्च सतर्कता अपनाइएको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले घटनालाई अत्यन्त दुःखद भन्दै पीडित र उनीहरूको परिवारका लागि प्रार्थना गर्न अपिल गरेका छन्।
बीबीसीका अनुसार, सुरक्षाको जोखिम कायमै रहेकाले विश्वविद्यालयले विद्यार्थीहरूलाई अर्को सूचना नआएसम्म सतर्क रहन आग्रह गरेको छ।






