रुपन्देही। नेकपा एमाले रुपन्देहीका सचिव तथा सैनामैना नगरपालिकाका पूर्व नगर प्रमुख चित्रबहादुर कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने भएका छन्।
एमाले उपाध्यक्ष विष्णु पौडेलका पूर्व स्वकीय सचिवसमेत रहेका कार्की लामो समय एमालेमा सक्रिय रहँदै आएका लोकप्रिय र प्रभावशाली नेताका रूपमा परिचित छन्।
भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा सरकारले गरेको दमन, युवा–विद्यार्थीको ज्यान गएको घटनाप्रति असन्तुष्टि जनाउँदै कार्कीले त्यतिबेलै एमाले परित्यागको घोषणा गरेका थिए।
त्यसयता उनी पार्टी गतिविधिमा सक्रिय देखिएका थिएनन्।
कार्कीले तत्कालीन सरकार प्रमुख एवं एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार, परिवारवाद र सुशासनविरोधी कदम चालेको तथा आन्दोलन दमनको नैतिक जिम्मेवारी लिन अस्वीकार गरेको भन्दै पार्टी छाड्ने निर्णय गरेको बताएका छन्।
रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति स्वर्णिम वाग्लेलगायत शीर्ष नेतासँगको संवाद र छलफलपछि आफूले रास्वपा रोजेको कार्कीले स्पष्ट पारेका छन्।
उनका अनुसार, “राजनीतिक व्यक्ति भएकाले मुलुक निर्माणका लागि नयाँ विकल्प रोज्नु जरुरी थियो।”
रास्वपा रुपन्देहीका नेता सुदन ज्ञवालीका अनुसार,
आइतबार सैनामैनामा वृहत पार्टी प्रवेश कार्यक्रम आयोजना गरी कार्कीलाई औपचारिक रूपमा पार्टीमा स्वागत गरिनेछ।
कार्यक्रममा उपसभापति स्वर्णिम वाग्लेसहित शीर्ष नेताहरू सहभागी हुन रुपन्देही आउनेछन्।
नगर प्रमुखका रूपमा गरेका नमूना काम
नगर प्रमुख हुँदा कार्कीले रुपन्देहीमा—
अन्तरपालिका सहकार्यमा फोहोर व्यवस्थापन
अन्तरपालिका सार्वजनिक यातायात
नगर चक्रपथ अवधारणा
बेघरबारलाई आवास
सरकारी विद्यालयमा कम्प्युटर शिक्षा
जस्ता नमूना योजना अघि सारेका थिए।
२०७९ को निर्वाचनमा विष्णु पौडेलको जितमा कार्कीको भूमिका महत्त्वपूर्ण रहेको बताइन्छ।
त्यसैले कार्कीको एमाले परित्याग र रास्वपामा प्रवेशले रुपन्देही–२ मा एमाले, विशेषगरी विष्णु पौडेललाई राजनीतिक धक्का लाग्ने विश्लेषकहरूको ठम्याइ छ।






