बर्दिया। दाङको तुलसीपुर–५ का २७ वर्षीय निरज चौधरीको बर्दियाको राजापुरमा गोली प्रहार गरी हत्या गरेको आरोपमा महावीर चौधरी पक्राउ परेका छन्। पक्राउ परेका महावीर लुम्बिनीका पूर्वमुख्यमन्त्री तथा कांग्रेस नेता डिल्लीबहादुर चौधरीका सहोदर भाइ हुन्।

जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय राजापुर बर्दियाको संयुक्त टोलीले बुधबार बिहान कैलारी गाउँपालिका–५ को बैजपुरबाट ५१ वर्षीय महावीर चौधरीलाई पक्राउ गरेको हो।

डिल्लीबहादुर चौधरीले अनलाइनखबरसँग संक्षिप्त प्रतिक्रिया दिँदै,
“महावीर मेरो सहोदर भाइ हुन्, पक्राउ परेको सुनेको छु,”
भनेका छन्।

राजापुरको हमार थारू रेष्टुरेन्टमा बसेका निरज चौधरीमाथि गोली प्रहार भएपछि गम्भीर घाइते अवस्थामा उनलाई नेपालगञ्ज ल्याइए पनि उपचारका क्रममा मृत्यु भएको थियो।

घटनापछि घटनास्थलमै रहेका महावीर चौधरी निरजकै मोटरसाइकल लिएर कैलालीतर्फ फरार भएका थिए।

राजापुरका डीएसपी कविन्द्रसिंह बोहराका अनुसार,
“महावीर चौधरीलाई कैलाली प्रहरीको सहकार्यमा हसुलियाबाट नियन्त्रणमा लिइएको हो। उनको साथबाट पेस्तोल समेत बरामद गरिएको छ।”

बरामद गरिएको पेस्तोल नै हत्यामा प्रयोग भएको हो/होइन भन्ने कुरा विज्ञान प्रयोगशाला परीक्षणपछि मात्र पुष्टि हुने प्रहरीले जनाएको छ।

निरजको हत्या प्रकरणमा यसअघि नै रेष्टुरेन्ट सञ्चालक रामकुमारी चौधरी, उनका श्रीमान् बुद्धिप्रसाद र छोरा राहुल चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो।
महावीर उक्त परिवारको पोल्ट्री फार्ममा कामदारका रूपमा काम गर्दै आएका थिए।

महावीर चौधरी कांग्रेस नेता तथा पूर्वमुख्यमन्त्रीका सहोदर भएकाले घटनाले राजनीतिक तरंग ल्याएको छ।
प्रहरीले यसलाई सांगठित र योजनाबद्ध हत्या मान्दै थप अनुसन्धान अघि बढाइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय