बुटवल। सहकारी ठगी तथा सङ्गठित अपराध आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा आज उच्च अदालत बुटवलमा सुनुवाइका लागि पेसी तोकिएको छ।

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुवरका अनुसार मुद्दा आजै बहसको क्रममा प्रवेश गर्नेछ। उनले भने,
“आजको लागि पेसी चढाइएको छ। दुवै पक्षका कानुनी प्रतिनिधिहरू उपस्थित रहने अपेक्षा गरिएको छ।”

यसअघि तोकिएको तारिखमा रवि लामिछाने पक्षका कानुनी व्यवसायीहरूले निवेदन दिएपछि दुई पटक बहस रोकिएको थियो। कानुनी प्रक्रिया अघि नबढ्दा मुद्दा लामो समयदेखि उच्च अदालतमा स्थगित हुँदै आएको थियो।

बुटवलस्थित सुप्रिम सहकारीमा देखिएको ठगीसम्बन्धी अभियोगमा थुनामा रहेका लामिछानेले सहकारीमा भएको अपचलनप्रति आफू जिम्मेवार ठहरिने बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीले गत साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो।

जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले प्रस्तुत गरिएका कागजात, बिगो दाखिला तथा अभियोगका गम्भीरता हेर्दै पुर्पक्षका लागि थुनामै राख्ने आदेश निरन्तरता दिएको थियो।

जिल्ला अदालतको आदेशविरुद्ध गत भदौ ९ गते रवि लामिछानेले उच्च अदालत बुटवलमा निवेदन दर्ता गराएका थिए। आज तोकिएको पेसीमा सोही निवेदनमाथि सुनुवाइ हुनेछ।
छविलाल जोशीसमेत यही मुद्दामा सह–अभियुक्तका रूपमा जेलमै रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय