सिंहदरवारमा बुधबार सरकार र जेनजीबीच विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ। सहिद परिवारका तर्फबाट सहिद भोजराज थापा र प्रधानमन्त्री सुशीला कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरे।
हस्ताक्षर पछि धन्यवादको क्रममा प्रधानमन्त्री कार्कीले सुदन गुरुङलाई मेरो जेठो छोरा भनेको घोषणा गरेपछि हलमा तालीको फोहोरा बज्यो। तर केही जेनजीहरूले यसमा आपत्ति जनाउँदै, सम्झौता प्रक्रिया निष्पक्ष नभएको र “कसैलाई काखा, कसैलाई पाखा” लगाइएको आरोप समेत लगाएका छन्।
प्रधानमन्त्री कार्कीले सम्बोधनमा अन्य जेनजीहरूलाई पनि आफ्नो छोराछोरी भन्दै सम्बोधन गरिन्। उनले स्पष्ट पारिन् कि आफू सरकारमा रहेसम्म जेनजी आन्दोलनका शहीद र घाइतेहरूको पक्षमा उभिने प्रतिबद्ध छिन्।
उनले भनिन्,
“हामी सरकारमा रहेसम्म जेनजीका लागि गरिरहनेछौं। म चाहन्छु, जति पनि युवा शक्तिहरू छन्, उनीहरूले देशमै रोजगार पाउन्, देशमै बसोस्, किनकि उनीहरू देशका कर्णधार हुन्। एउटै डकुमेन्टमा सबैको माग पूरा नहुँदो रहेछ।”
प्रधानमन्त्री कार्कीले आफूलाई युवा पुस्ताले ‘आमा’ मानेकोमा कृतज्ञता व्यक्त गर्दै भनेकी छिन् कि उनी सधैं युवा शक्तिको पक्षमा रहने र उनीहरूको विचारले देश चलोस् भन्ने चाहना राख्छिन्।
उनीसँगै, सरकारले सचिव, कर्मचारी र सुरक्षा निकायलाई धन्यवाद दिँदै सुदन गुरुङलाई आफ्नो जेठो छोरा भएको बताएका छन्। उनले यस सम्झौतापत्रलाई ऐतिहासिक र बलियो दस्तावेजको रूपमा मूल्याङ्कन गर्दै भनिन्,
“यो ऐतिहासिक डकुमेन्ट भोलि राजपत्रमा प्रकाशित हुनेछ। अन्य समयमा भएका सम्झौताहरू जस्तै यो पनि बलियो दस्तावेज बन्नेछ।”






