बर्दियाको बढैयाताल गाउँपालिका–४ मा भएको बाबु–छोरीको ज्यान जाने दुखद घटनाको स्थलगत छानबिन सुरु भएको छ।
छानबिन समितिका संयोजक सुरेश पन्थी को नेतृत्वमा सदस्यहरूसहितको टोली घटनास्थल पुगेको हो। टोलीले घटनास्थलको अवलोकन गर्दै सर्वपक्षीय छलफल गरेको छ।
समितिको सहयोगमा आज मृतक अञ्जु थारुको जन्मदर्ता र उनकी सात वर्षीया छोरी अनिताको जन्म दर्ता पनि सम्पन्न भएको छ। समितिका सदस्य कुलशेखर अर्याल का अनुसार टोलीले घटनास्थलमा आएर पीडित परिवारलाई सहजीकरण गर्दै अनुसन्धान सुरु गरेको छ। “बाँकी समस्या बुझेर प्रतिवेदनमा उल्लेख गर्नेछौँ”, उनले भने।
घटनापछि अञ्जुका श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ, र उनलाई पक्राउ गर्न अदालतको अनुमति भइसकेको छ। यसबारे राष्ट्रिय मानवअधिकार आयोगले पनि छानबिन गरिरहेको छ।
२२ वर्षिया अञ्जु थारुले गाउँकै अनिल थारुसँग बिहे गरेकी थिइन्। उनले पति विरुद्ध अंश मुद्दा दर्ता गरेकी थिइन्, तर नागरिकता नहुँदा अदालतको अंश दिने फैसला कार्यान्वयन हुन सकेन।
नागरिकता नहुँदा उनकी छोरीको जन्मदर्ता हुन सकेन।
वडाले “बुबाको नागरिकता चाहिन्छ” भन्दै जन्मदर्ता अस्वीकृत गर्यो।
स्थानीय प्रशासनले नागरिकता बनाउन अञ्जुलाई असहयोग गर्यो।
निरन्तर असहयोग र कानुनी अवरोधका कारण अञ्जुले गत कात्तिक २२ गते माइतीमै आत्महत्या गरेकी थिइन्। चार दिनपछि ६१ वर्षीय बाबु कान्छा थारुले पनि छोरीको मृत्युको शोकमा आत्महत्या गरे।
छानबिन समितिले पाँच दिनभित्र अध्ययन प्रतिवेदन सरकारलाई बुझाउनेछ।






