अमेरिकाको फ्लोरिडा राज्यमा गुडिरहेको कारमाथि एक सानो विमान आपतकालीन अवतरणका क्रममा खस्दा एक महिला घाइते भएकी छन्। उक्त घटना सोमबार मेरिट आइल्यान्ड नजिकैको आई–९५ राजमार्गमा भएको हो।
बिचक्राफ्ट–५५ मोडेलको विमान उडानका क्रममा प्राविधिक समस्या देखिएपछि दुवै इन्जिनले शक्ति गुमाउँदै गए। २७ वर्षीय पाइलटले राजमार्गलाई आपतकालीन अवतरण स्थलका रूपमा रोजे पनि त्यतिबेला सडकमा ट्राफिक बाक्लो थियो। अवतरणको प्रयासकै दौरान विमान सिधै टोयोटा क्यामरी कारसँग ठोकिएको थियो।
कार ५५ वर्षीया महिलाले चलाएकी थिइन्। उनी सामान्य चोटपटकसहित अस्पताल भर्ना गरिएकी छन्। विमानमा रहेका पाइलट र एक मात्र यात्रु भने सकुशल रहेका छन्।
उक्त घटना राजमार्गमा गुडिरहेको अर्को सवारी साधनको ड्यासक्याममा कैद भएको छ, जसपछि भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल बनेको छ।
ब्रेभार्ड काउन्टी फायर रेस्क्युका अनुसार विमान २०१ माइल मार्कर नजिकै आपतकालीन अवतरण गर्न खोज्दा नियन्त्रण गुमाएर कारमा ठोकिएको हो। दुर्घटनामा विमान र कार दुवै गम्भीर रूपमा क्षतिग्रस्त भएका छन्।
राष्ट्रीय यातायात सुरक्षा बोर्ड (NTSB) ले दुर्घटनाको विस्तृत अनुसन्धान सुरु गरेको छ।






