प्रभु बैंक लिमिटेडका रेमिट्यान्स विभाग प्रमुख सुगेन (सुजिन) शाक्यलाई केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले पक्राउ गरेको छ। ललितपुर महानगरपालिका–१७ निवासी ४२ वर्षीय शाक्यलाई उच्च अदालत पाटनबाट पक्राउ आदेश लिएपछि बुधबार ललितपुरस्थित ईखाँछेबाट नियन्त्रणमा लिइएको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले जानकारी दिए।

सीआईबीका अनुसार शाक्यमाथि रेमिट कारोबारसँग सम्बन्धित कानूनी व्यवस्थाको दुरुपयोग गरी प्रभु बैंकलाई एक अर्ब रुपैयाँभन्दा बढी आर्थिक हानि पुर्‍याएको आरोप छ। उनले बैंकलाई फाइदा हुने भन्दै प्रयोग हुने ‘प्रिफन्डिङ’ को प्रावधानलाई दुरुपयोग गरी आफ्नो स्वार्थ समूह नजिकको प्रभु मनि ट्रान्सफर लाई लाभ हुनेगरी निर्णय गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

प्रभु म्यानेजमेन्ट प्रालिलाई नियम विपरीत सुपर एजेन्ट बनाएर एडभान्स रकम उपलब्ध गराएको, र रेमिट कारोबार स्थगित भएपछि पनि उक्त रकम लामो समयसम्म स्वार्थ समूहले प्रयोग गर्न दिएको आरोप पनि शाक्यमाथि छ।

नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत गरिएको कार्यका कारण प्रभु बैंकलाई ८ करोड ९३ लाख १९ हजार ९ सय ८६ रुपैयाँ नोक्सानी भएको तथा सो रकम लुकाउन थप कर्जा प्रवाह गरी कर्जा दुरुपयोग गरिएको सीआईबीले जनाएको छ।

यसअघि यही प्रकरणमा प्रभु बैंकका सीईओ अशोक शेरचन, नायव सीईओ मणिराम पोखरेल, तथा प्रमुख कर्ता अधिकृत रिवास श्रेष्ठलाई पनि बैंकिङ कसूरमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय