रूसले युक्रेनमाथि फेरि ठूलो आक्रमण गरेको छ । शनिबार भएको आक्रमणमा देशभर ठूलो विनाश भएको र धेरै क्षेत्रमा मानिसहरू घाइते भएको सरकारी अधिकारीहरूले बताएका छन् ।

युक्रेनी वायुसेनाले ३० मिसाइल र ५८५ ड्रोन नष्ट गरेको दाबी गरेको छ । २९ स्थानमा आक्रमण भएको छ, जसमा ऊर्जा संरचना मुख्य लक्ष्य बनेको बताइएको छ ।

राष्ट्रिय ऊर्जा अपरेटर उक्रेनर्गोका अनुसार जाडोको सुरुआतमा युक्रेनको विद्युत् प्रणालीलाई अस्थिर बनाउन आक्रमणको प्रमुख लक्ष्य बिजुली संयन्त्र र ऊर्जा पूर्वाधार बनाइएका थिए ।

रुसले चार वर्षदेखि जाडोलाई हतियारको रूपमा प्रयोग गर्दै तापक्रम, पानी र बिजुली प्रणालीलाई निशाना बनाइरहेको युक्रेन र पश्चिमा देशहरूको आरोप छ ।

अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीले आक्रमणका क्रममा जापोरिज्झिया परमाणु संयन्त्रको बाह्य बिजुली आपूर्ति अस्थायी रूपमा बन्द भएको बताएको छ ।

युक्रेनी गृह मन्त्री इहोर क्लाइमेन्कोका अनुसार देशभर कम्तीमा आठजना घाइते भएका छन् । किभ क्षेत्रमा तीनजना घाइते भएको पुष्टि भएको छ ।

रुसविरुद्ध युक्रेनको प्रत्याक्रमण
यसैबीच, रुसले ११६ युक्रेनी ड्रोन नष्ट गरेको दाबी गरेको छ । युक्रेनी सेनाले रुसको रियाजान तेल शुद्धीकरण संयन्त्रमा आक्रमण गरेको बताएको छ । रुसी क्षेत्रीय अधिकारीहरूले पनि आक्रमणको पुष्टि गरेका छन् । तर, संयन्त्रमा भएको क्षतिबारे मौन छन् । रुसको तेल आयमा चोट पुर्‍याउन युक्रेनले रुसी तेल शुद्धीकरण संयन्त्रहरूमाथि दूरगामी ड्रोन आक्रमण बढाएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकारहरू र युक्रेनी प्रतिनिधिहरूबीच वार्ता जारी छ । वार्ता युद्धपछिको सुरक्षा ढाँचासम्बन्धी सम्भावित सम्झौताका दिशामा केन्द्रित छ । रोयटर्स

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय