नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीविरुद्ध दायर गरिएको भ्रष्टाचार मुद्दामा आज विशेष अदालतमा थुनछेक बहस हुँदैछ।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासमा अधिकारीसहितका प्रतिवादीहरूको बयान लिइनेछ। बयान पश्चात् उनीहरूलाई थुनामा राखेर अनुसन्धान अगाडि बढाउने कि धरौटीमा रिहा गर्ने भन्नेबारे अदालतले आदेश दिनेछ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिञ्चोक हेलिपोर्ट निर्माण प्रक्रिया तथा ठेक्का व्यवस्थापनमा गम्भीर अनियमितता भएको ठहर गर्दै बुधबार अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
मुद्दामा समावेश प्रतिवादी
प्रदीप अधिकारी, महानिर्देशक, क्यान
मुरारी भण्डारी, निर्देशक
समृद्धि श्रेष्ठ, उपप्रबन्धक इन्जिनियर
नवलविक्रम थापा, प्रबन्धक
अभियन्त्र कन्सल्टिङ प्रालि
प्रालिका प्रमुख विजय थापा
निजी इन्जिनियर गुरुदत्त अधिकारी
अख्तियारले उनीहरूमाथि जनही १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ ७७ पैसा बिगो दाबी गरेको छ। कैद र जरिवानासहितको सजाय माग गर्दै दायर गरिएको मुद्दासँग सम्बन्धित प्रमाणहरू अध्ययनपछि थुनछेक सम्बन्धी निर्णय हुने विशेष अदालतले जनाएको छ।
मुद्दा दायर गर्नुअघि प्रदीप अधिकारी र मुरारी भण्डारीलाई अख्तियारले पक्राउ गरिसकेको थियो।






