काठमाडौँ — कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीका अनुसार थापाको बिहीबार ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
४६ वर्षीय थापा करिब १५ महिनादेखि प्यान्क्रियाज क्यान्सरबाट ग्रस्त थिए। नेपाली काँग्रेस क्षेत्र नं.–२ का सचिवसमेत रहेका उनी केही समयदेखि नियमित उपचाररत थिए।
थापाको हिजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो। अन्तिम श्रद्धाञ्जली कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंह, महामन्त्री गगन थापा, नगरप्रमुख उपेन्द्र कार्कीलगायतले पार्टीको झण्डा ओढाइ श्रद्धाञ्जली अर्पण गरेका थिए।
वडाध्यक्ष थापाको निधनप्रति शोक व्यक्त गर्दै नगरपालिकाले शोक विज्ञप्ति जारी गरेको छ। साथै, पालिकाका वडा कार्यालय, अत्यावश्यकबाहेकका स्वास्थ्य संस्था, आयुर्वेद औषधालय तथा सामुदायिक–संस्थागत विद्यालयमा आज सार्वजनिक बिदा पनि घोषणा गरेको जनाएको छ।






