पार्टी खोलेर धुमधामका साथ निर्बाचनको तयारीमा जुटेका धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा सुरु गरिएको ‘सुम्निमा पारूहाङ’ प्रतिमा निर्माण परियोजनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ। परियोजनासम्बन्धी आर्थिक र संस्थागत अनियमितताको उजुरी दर्ता भएपछि अख्तियारले धरान उपमहानगरलाई सम्पूर्ण कागजात पेस गर्न पत्राचार गरेको हो।
अख्तियारले मंसिर १४ गते पठाएको पत्रमा प्रतिष्ठानमा रकम अपचलन भएको आशंका रहेको उल्लेख गरिएको छ। सोही आधारमा प्रतिष्ठान दर्ता प्रक्रिया, आर्थिक व्यवस्थापन र पदाधिकारीबारे विस्तृत विवरण १५ दिनभित्र आयोगमा बुझाउन निर्देशन दिइएको छ।
उजुरी अनुसार मेयर साम्पाङ र केही कर्मचारीको मिलेमतोमा स्थानीय तह कार्यपालिकाको नेतृत्वमै बसेका व्यक्तिले आफ्नो अध्यक्षतामा संस्था दर्ता गरेको आरोप लगाइएको छ। प्रतिष्ठानमा आएको रकमको स्रोत, खर्चको विवरण तथा रकम कसका नाममा हस्तान्तरण भयो भन्नेबारे पनि प्रश्न उठाइएको छ।
अख्तियारले मागेका कागजातमा प्रतिष्ठानको दर्ता प्रमाणपत्र, दर्ता मिति, कानुनी आधार, पदाधिकारी सूची, विधान–नियमावली, उद्देश्य, संरचना, आर्थिक प्रणाली र निर्णय प्रक्रिया लगायतका विवरण समावेश छन्।
अख्तियारको पत्र अघि आएपछि मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत असन्तोष प्रकट गरेका छन्। उनले सरकार तथा सम्बन्धित निकायले पहल नलिएपछि आफैं अघि बढ्नुपरेको दाबी गर्दै अख्तियारको चासोलाई राजनीतिक प्रकृतिको बताएको संकेत गरेका छन्।






