नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उनलाई नियन्त्रणमा लिएर विशेष अदालत काठमाडौंमा उपस्थित गराएको हो। अधिकारीमाथि भक्तपुरको नलिन्चोक हेलिकप्टर प्रकरणमा सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी पुर्याएको आरोप छ।

अख्तियारले अधिकारीसहित क्यानका तत्कालीन निर्देशक मुरारी भण्डारीलाई पनि पक्राउ गरेको छ। दुवैजनालाई मुद्दा दर्ताका लागि विशेष अदालत लगिएको आयोग स्रोतले जनाएको छ।

आयोगले महानिर्देशक अधिकारीसहित ६ जना र एक कन्सल्टिङ प्रालिविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। दायर गरिएको अभियोगपत्रमा अधिकारीप्रति १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ विगो माग गरिएको उल्लेख छ।

मुद्दा दायर गरिएका अन्यमा तत्कालीन निर्देशक मुरारी भण्डारी, उप–प्रबन्धक नल विक्रम थापा, वरिष्ठ अधिकृत तथा हाल उपप्रबन्धक सम्वृद्धि श्रेष्ठ, परामर्शदाता गुरूदत्त अधिकारी र अभियन्त्र कन्सल्टिङ प्रालि तथा सो कम्पनीका तत्कालीन सञ्चालक विजय थापा रहेका छन्।

ढिलोगरी अभियोगपत्र दर्ता भएकाले बयान तथा थुनछेक बहस शुक्रबार मात्र हुने विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय