अस्ट्रेलियाले डिसेम्बर १० देखि फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युबजस्ता प्रमुख सामाजिक सञ्जालमा १६ वर्षमुनिका प्रयोगकर्तामाथि प्रतिबन्ध लागू गर्ने तयारी गरेको छ। डिजिटल सुरक्षा सुधार्ने उद्देश्यसहित आएको सरकारले प्रस्तावित कदमले अब व्यापक बहस सुरु भएको छ।

युट्युबले बुधबार प्रतिबन्धको कडा आलोचना गर्दै यसलाई छिटो र अपूरो मूल्याङ्कनमा आधारित निर्णय भनेको छ।
युट्युबका सार्वजनिक नीतिका प्रमुख रेचेल लर्डले भनिन्–
“यो कानूनले बालबालिकालाई सुरक्षित बनाउने दाबी पूरा गर्दैन। उल्टै, उनीहरूलाई युट्युबमा कम सुरक्षित बनाउन सक्छ। अभिभावक र शिक्षकहरूबाट पनि यसबारे गम्भीर चिन्ता आएका छन्।”

युट्युबका अनुसार प्रतिबन्ध लागू भएपछि १६ वर्षमुनिका सबै अस्ट्रेलियाली प्रयोगकर्ता स्वतः साइन–आउट हुनेछन्। उनीहरूले खाता खोल्न नमिले पनि खाता बिना भिडियो हेर्न भने सक्ने छन्। तर, यसले ‘सुरक्षा फिल्टर’ तथा अन्य संरक्षक सुविधा गुम्ने बताइएको छ।

युट्युबले १६ वर्ष पुगेपछि खाता पुनः सक्रिय गर्न सकिने र पहिलेकै डेटा जोगाइने व्यवस्था गरिएको जनाएको छ।

अस्ट्रेलियाली सञ्चार मन्त्री अनिका वेल्सले युट्युबको टिप्पणीलाई ‘असामान्य’ भन्दै प्रतिवाद गरिन्।
उनका अनुसार,
“यदि युट्युब आफैंले आफ्नो प्लेटफर्म बालबालिकाका लागि सुरक्षित छैन भनेर संकेत गरिरहेको छ भने, समस्या समाधान गर्ने दायित्व युट्युबकै हो।”

सरकारले सुरुवाती चरणमा प्रतिबन्ध पूर्ण प्रभावकारी नहुन सक्ने स्वीकार गरेको छ। तर प्लेटफर्महरूले ‘उचित कदम’ नचालेको खण्डमा ४९.५ लाख अस्ट्रेलियन डलर (झन्डै ३२ लाख अमेरिकी डलर) जरिवाना लाग्ने चेतावनी दिएको छ।

मेटा (फेसबुक–इन्स्टाग्राम) ले उमेरको आधारमा केही खाता निष्क्रिय गर्न सुरु गरिसकेको जनाएको छ।

डिजिटल अधिकार समूह ‘डिजिटल फ्रिडम प्रोजेक्ट’ ले उच्च अदालतमा मुद्दा दायर गर्दै यो प्रतिबन्धलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको अन्यायपूर्ण हमला बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय