मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव आज प्रदेश सभामा विश्वासको मत लिन लागेका छन्।
सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि मुख्यमन्त्री यादवले आजै मतदान प्रक्रियामा जाने भएका हुन्। यसका लागि प्रदेश सभाको बैठक बिहान ८:३० बजे बोलाइएको छ।
सर्वोच्च अदालतले मंसिर १५ मा जारी गरेको परमादेशमा मुख्यमन्त्री यादवलाई तत्काल विश्वासको मत लिन निर्देशन दिएको थियो। आदेशपछि यादवले प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै बैठक बोलाउने अनुरोध गरेका थिए।
गत असोज २९ गते सात दलीय गठबन्धनको समर्थनमा लोसपा नेता जितेन्द्र सोनल मुख्यमन्त्री बनेका थिए। तर विश्वासको मत जुट्ने सम्भावना नदेखिएपछि उनले कात्तिक २२ गते राजीनामा दिए।
त्यसपछि तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) बमोजिम एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई कात्तिक २४ गते मुख्यमन्त्री नियुक्त गरिन्।
भण्डारीले काठमाडौं उपचारका लागि जाने भनिएको समयमा बर्दिवासस्थित होटलमा बिहानै शपथ गराएको घटनाले विवाद निम्त्याएको थियो। सो कार्यविधिबारे असन्तुष्ट दलहरूले सर्वोच्चमा रिट दायर गरेका थिए।
मधेश प्रदेश सभामा कुल १०७ सदस्य छन्। विश्वासको मत प्राप्त गर्न कम्तिमा ५४ मत आवश्यक पर्छ।
तर एमालेसँग सभामुखसहित २५ सांसद मात्रै रहेकाले सरकारका लागि आवश्यक संख्या पूरा गर्न चुनौतीपूर्ण देखिएको छ। तीमध्ये एक सांसद निलम्बित छन्। साथै, एक–एक सिटका नेपाल संघीय समाजवादी र राप्रपा एमालेसँग छन्।
राप्रपाबाट प्रदेश सरकारमा सहभागी भएर मन्त्री बनेकी कञ्चन बिच्छा पार्टीको नीतिविपरीत गएको भन्दै उनको सांसद पद खारेज गराउन राप्रपाले प्रदेश सभामा पत्र पठाइसकेको छ।
उता सात दलीय गठबन्धनसंग ७३ सांसद छन्—
नेपाली कांग्रेस : २२
जसपा नेपाल : १८
जनमत पार्टी : १३
माओवादी केन्द्र : ९
लोसपा : ८
एकीकृत समाजवादी : ७
नागरिक उन्मुक्ति पार्टी : १
गठबन्धन एकताबद्ध देखिएकाले वर्तमान अंकगणित अनुसार मुख्यमन्त्री यादवले विश्वासको मत पाउने सम्भावना न्यून रहेको विश्लेषण गरिन्छ।






