काठमाडौँ । बौद्धस्थित पाँचतारे होटल हायात रिजेन्सीमा सञ्चालित प्राइड क्यासिनोमा भएको ठूलो लुटपाट घटनामा क्यासिनोमै टेबल सञ्चालन गर्ने समूह नै संलग्न रहेको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार क्यासिनोमा टेबल चलाउँदै आएका व्यक्तिहरूले नै भदौ २४ मा जेनजी प्रदर्शनको अवसर पारेर योजनाबद्ध रूपमा क्यासिनो लुटेका हुन्।
‘सेठ्ठी’ दाबा शेर्पाले नेतृत्व गरेको लुट
मंसिर १२ गते पक्राउ परेका
दावा (सेठ्ठी) शेर्पा,
रने (रञ्चित) खड्गी,
लुटमा संलग्न मुख्य अभियुक्त रहेको प्रहरीले जनाएको छ।
सेठ्ठी क्यासिनो प्राइडमा टेबल किनेर सञ्चालन गर्ने व्यक्ति मात्र होइन, क्यासिनोका स्टाफ पनि हुन्।
उनले नेपाली जुवाडेलाई भारतीय नागरिकको नाममा नक्कली परिचयपत्र बनाएर प्रवेश गराउँदै आएको अनुसन्धानले देखाएको छ।
जेनजी प्रदर्शनकै भीडभाड र अराजकता निम्त्याइएका बेला क्यासिनोबाट करिब १४ करोड रुपैयाँ लुटिएको क्यासिनो सञ्चालकको दाबी छ।
लुटपछि अराजक समूहले क्यासिनोभित्रका संरचना तोडफोड गर्दै आगजनी गरी फरार भएको थियो।
प्रारम्भिक आक्रमण रने (रञ्चित खड्गी) समूहले क्यासिनोमा प्रवेश गर्दै तोडफोड सुरु गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ।
त्यसपछि सेठ्ठीले आफ्नो अर्को समूह लिएर क्यासिनोभित्र छिरेर नगद लुट्ने कामको नेतृत्व गरेको एसएसपी थापाले बताए।
सेठ्ठी लामो समयदेखि कुख्यात गुण्डा नाइके दावा लामासँग निकट रहेकाले घटनामा काभ्रेली समूहको संलग्नता स्पष्ट देखिएको अनुसन्धान अधिकृतहरूको भनाइ छ।
उक्त समूहमा—
कुलध्वज (‘कुले’) लामा,
सञ्जय तामाङ,
अन्य युवाहरू
सक्रिय रहेको प्रहरीले जनाएको छ।
सञ्जय तामाङ नमोबुद्ध नगरपालिकाका वडा सदस्य हुन्।
तर उनी यसअघि पनि विभिन्न आक्रमण र कुटपिट प्रकरणमा पक्राउ परेका थिए।
घटनाको सीसीटीभी फुटेज र विभिन्न भिडियोमा लुटेराहरू समूहगत रूपमा खुकुरी बोकेर प्रवेश गरेको स्पष्ट देखिन्छ।
प्रहरीले ती दृश्यका आधारमा थप व्यक्तिहरूको पहिचान गर्दै पक्राउ प्रक्रिया अघि बढाइरहेको छ।
होटल हायातले दिएको उजुरीमा अनुसन्धान तीव्र
क्यासिनोमा भएको
लुटपाट,
आगजनी,
तोडफोड
सम्बन्धी उजुरी होटल हायात रिजेन्सीले दिएको हो।
उक्त उजुरीका आधारमा काठमाडौँ प्रहरी परिसरले घटनालाई ‘सङ्गठित अपराध’ का रूपमा लिएर अनुसन्धान गरिरहेको छ।






