काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) का बुवा तथा वरिष्ठ आयुर्वेद चिकित्सक डा. रामनारायण शाहको ७६ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि मधुमेह र पिसाबसम्बन्धी समस्याबाट पीडित डा. शाहले सोमबार दिउँसो १२:२० बजे निजामती (सिभिल) अस्पतालमा अन्तिम सास लिए।

आइतबार बिहान अवस्था गम्भीर बनेपछि उनलाई १०:१५ बजे बेहोस अवस्थामा अस्पताल लगिएको थियो। अस्पताल पुग्दा नै उनको मुटुले काम गर्न छोडिसकेको चिकित्सकहरूले बताएका छन्।
सीपीआर दिइएपनि सुधार देखिएन।
मिर्गौला र कलेजोले काम बन्द गरेपछि भेन्टिलेटरमा राखेर उपचार गरिए पनि संक्रमण शरीरभरि फैलिँदै गएकाले बचाउन नसकिएको आईसीयू चिकित्सक डा. प्रदीप तिवारीले जानकारी दिए।

उनका अनुसार, डा. शाह ‘सेप्टिक सक’ का कारण निधन भएका हुन्।

धेरैले मेयर बालेनका बुवाका रूपमा चिने पनि डा. शाहको पेशागत परिचय अत्यन्तै व्यापक थियो।
वि.सं. २०४३ मा सरकारी सेवामा प्रवेश गरेका उनले चार दशकभन्दा बढी समय आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रमा योगदान दिए।

उनका प्रमुख जिम्मेवारीहरू

आयुर्वेद विभागका निमित्त महानिर्देशक

सिंहदरबार वैद्यखानाका प्रबन्ध निर्देशक (२०५८–२०५९)

नरदेवी आयुर्वेद अस्पतालमा सेवा

आयुर्वेदिक औषधि उत्पादन र नियमनमा महत्त्वपूर्ण भूमिका

उनले भारतको गुजरात आयुर्वेद विश्वविद्यालय, जामनगरबाट ‘काय चिकित्सा’ मा एमडी गरेका थिए।

सहकर्मी चिकित्सकहरूका अनुसार, डा. शाह संस्था उन्नयनमा गहिरो लगाव राख्थे।
वैद्यखाना निर्देशक डा. प्रदीप केसी भन्छन्,
“उहाँले २०५८–५९ मा बनाएको फर्निचर आजसम्म पनि प्रयोग भइरहेको छ। यस्तो समर्पण अहिले दुर्लभ छ।”

डा. शाहको जन्म २००६ कात्तिक २० गते महोत्तरीको एकडारा गाउँपालिकामा भएको थियो।
चार दाजुभाइ र एक बहिनीमध्ये उनी जेठा सन्तान थिए।
उनका ४ छोरी र २ छोरा छन्। मेयर बालेन शाह उनका कान्छा छोरा हुन्।
अवकाशपछि उनले परिवारसहित गैह्रीगाउँ, तीनकुनेमा बस्दै आएका थिए।

निधनपछि सोमबार नै डा. शाहको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो।
अन्तिम श्रद्धाञ्जलीका लागि राज्यका उच्च पदाधिकारीदेखि सर्वसाधारणसम्मको बाक्लो भीड देखियो।

उपस्थित हुनेहरूमा—

उपसभामुख इन्दिरा राना मगर

सञ्चारमन्त्री जगदीश खरेल

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ

खेलकुदमन्त्री बब्लु गुप्ता

प्रहरी महानिरीक्षक दानबहादुर कार्की

ललितपुर मेयर चिरीबाबु महर्जन

काठमाडौँ उपमेयर सुनिता डंगोल

कलाकार, कर्मचारी, स्थानीयवासी
लगायतको उल्लेखनीय उपस्थिति थियो।

सोसल मिडियामा हजारौँले मेयर बालेनप्रति समवेदना व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय