बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की नेतृ खालिदा जियाको स्वास्थ्य अवस्था अत्यन्त नाजुक बनेको छ। उपचाररत जियालाई चिकित्सकहरूले भेन्टिलेटरमा राखेको उनको पार्टीका नेताहरूले जानकारी दिएका छन्।
८० वर्षीया जियालाई छातीमा संक्रमण देखिएपछि नोभेम्बर २३ मा ढाकास्थित एक निजी अस्पतालमा भर्ना गरिएको थियो।
टीबीएसन्युज डट नेटले उद्धृत गरेको जानकारीअनुसार, बीएनपीका उपाध्यक्ष अहमद आजम खानले जियाको स्वास्थ्यमा गम्भीर जटिलता उत्पन्न भएको बताए।
उनका अनुसार, “खालिदा जियाको अवस्था बिग्रिएको छ र उनलाई भेन्टिलेटरमा राखिएको छ। उनको अवस्था निकै गम्भीर छ। अहिले प्रार्थना गर्नुबाहेक अन्य केही गर्न सकिँदैन,” भनेर खानले प्रतिक्रिया दिएका छन्।
खालिदा जियाले दुई कार्यकाल बंगलादेशको प्रधानमन्त्रीका रूपमा नेतृत्व गरिसकेकी हुन्। पछिल्ला वर्षहरूमा स्वास्थ्यसम्बन्धी विभिन्न समस्याका कारण उनी बारम्बार अस्पताल भर्ना हुँदै आएकी छन्।






