काठमाडौं। वैकल्पिक राजनीतिक शक्तिहरूलाई एकताबद्ध गर्ने प्रयास तीव्र भइरहेको बेला ऊर्जामन्त्री तथा ‘उज्यालो नेपाल’ पार्टीका अध्यक्ष कुलमान घिसिङ र काठमाडौं महानगरका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ। घिसिङले फेसबुकमार्फत सार्वजनिक गरेको तस्बिरले वैकल्पिक धारभित्रको चलायमान समीकरणलाई फेरि एकपटक चर्चामा ल्याएको हो।

स्रोतका अनुसार भेटवार्ता अस्ति बालेनको निवासमा सम्पन्न भएको थियो। आगामी निर्वाचनलाई लक्षित गर्दै वैकल्पिक शक्तिहरूको ध्रुवीकरणबारे केन्द्रित भएर दुईबीच गम्भीर छलफल भएको बताइएको छ।

बालेन : “वैकल्पिक शक्ति एक भए, बाहिर बसेरै समर्थन गर्न तयार”

बैठकमा मेयर बालेन शाहले वैकल्पिक दलहरू एक ठाउँमा आउन सके आफू संगठनमै नबसिकन बाहिरबाटै खुला समर्थन दिन तयार रहेको सन्देश दिएका छन्। उनले विशेषतः रास्वपा र उज्यालो नेपाल एक हुनुपर्ने धारणा राखेको स्रोत बताउँछ।

बालेनले स्वयं कुनै दल दर्ता नगरेकाले आगामी चुनावमा तटस्थ बस्ने वा अवस्थित कुनै दललाई समर्थन गर्ने रणनीति अघि बढाइरहेका छन्।

रास्वपा र उज्यालो नेपालबीच केही समयदेखि एकताबारे गहन छलफल भए पनि अन्तिम सहमति भने भइसकेको छैन। निर्वाचन आयोगमा दल दर्ताको अन्तिम म्यादअघि सहमति जुटाउने प्रयास असफल भएपछि अहिले पुनः २० गतेसम्म एकताको सम्भावना खुला छ।

स्रोतका अनुसार सैद्धान्तिक विवादभन्दा पद बाँडफाँट नै मुख्य अड्चन बनेको छ।

कुलमान घिसिङले रवि लामिछाने कारागारमै रहेको अवस्थासम्म पार्टी कमाण्ड लिनुपर्ने माग राखेका छन्।

रास्वपा पक्ष भने यसमा सहमत छैन। उनीहरूले घिसिङलाई उप–सभापति बन्न प्रस्ताव गरेका छन्।

विवेकशील–साझासँग एकता भएपछि उत्साहित रास्वपा अन्य नयाँ धारका समूह र व्यक्तित्वलाई पनि पार्टीमा समेट्ने प्रयासमा छ। त्यही क्रममा उज्यालो नेपालसँगको एकताबारे पनि सक्रिय छलफल जारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय