मोरङका तीन महत्वपूर्ण सरकारी कार्यालय— जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय र नापी कार्यालयमा भएको आगजनी प्रकरणमा प्रहरीले तत्कालीन माओवादी केन्द्रका स्थानीय नेता ताजिम अन्सारीसहित पाँच जनालाई पक्राउ गरेको छ। अन्सारी पूर्वसांसद अमनलाल मोदीका स्वकीय रहेका व्यक्ति हुन्।
पक्राउ परेकामा ताजिम अन्सारीसँगै महेश नेपाल, आवास पौडेल, राजीव यादव र अरुण साह सोनार रहेका प्रहरीले जनाएको छ।
जेन्जी आन्दोलनका क्रममा अन्सारीले आफैँले आगजनी र तोडफोडमा संलग्न भएको भिडियो टिकटकमा पोस्ट गरेका थिए। भिडियो हटाएपछि उनी केही दिन बेपत्ता भए पनि पार्टी एकता प्रक्रियापछि फेरि सार्वजनिक देखिन थालेका थिए।
यस्तै, कोशी प्रदेशसभाभित्र भएको आगजनीका बेला प्रहरीको टोपी लगाएर उल्लास मनाउँदै हिँडेको अन्सारीको अर्को भिडियो पनि बाहिर आएको छ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरू विराटनगरस्थित अदालत, महानगरपालिकालगायतका भवनमा भएको आगजनीमा पनि संलग्न देखिएका छन्।
अन्सारी र उनका समूहले आन्दोलनमा घुसपैठ गरेर युवाहरूलाई अराजकतामा उचालेको प्रहरीको दाबी छ।
यसअघि मोरङमा सरकारी सम्पत्तिमा आगजनी तथा लुटपाट गर्ने आरोपमा २१ जना पक्राउ परिसकेका छन्। प्रहरीले कसैलाई पनि नछोड्ने जनाएको छ।
नेपाली कम्युनिस्ट पार्टीमा रहेका अन्सारी सोमबार विराटनगरमा हुने पार्टी सभाका लागि आर्थिक संकलनको जिम्मेवारी बसेका थिए।
उनी निजी शैक्षिक संस्थामा चन्दा माग्दै पत्र थमाउँदै हिँडेको स्रोतले बताएको छ।
तर पूर्वसांसद अमनलाल मोदी भने अन्सारीसँग सम्बन्ध नरहेको बताउँदै भन्छन्—“प्रमाणका आधारमा संलग्न भए अनुसन्धान होस्।”






