काठमाडौँ । ‘जेनजी’ प्रदर्शनीका बेला आपराधिक गिरोहले हायात रिजेन्सी होटलबाट ठुलो परिमाणमा पैसा लुटिएको पाईएको छ । सबैभन्दा ठूलो क्षति त्यहाँ रहेको प्राइड इन्टरटेन्मेन्ट रिक्रीएसन सेन्टर—हायातको क्यासिनो—मा पुगेको खुलेको छ।
२०७२ असोजदेखि सञ्चालनमा आएको यो क्यासिनो नेपाली व्यवसायी विनायक शाह र भारतीय सह–सञ्चालक तरुण खट्टरको संयुक्त पहलमा चल्दै आएको हो। प्रदर्शनकारीको पहिलो निसाना होटेलभन्दा बढी क्यासिनोकै सेफ र टेबलहरू बनेका थिए।
होटेल तथा क्यासिनोको सीसीटीभी फुटेजमा देखिएको अनुसार, क्यासिनोमा तोडफोड तथा लुटपाट गर्नेहरू दुई छुट्टाछुट्टै समूहमा प्रवेश गरेका थिए।
पहिलो समूहका एक युवक खुकुरीसहित भित्र छिरेका देखिन्छन्।
सो समूहले क्यासिनोभित्रका मेसिन, टेबल र सजावट तोडफोड गरेको छ।
केही मिनेटपछि आएको दोस्रो समूहले पनि व्यापक क्षति पुर्याएको देखिन्छ।
अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार, लुटपाटमा संलग्न धेरैजना क्यासिनोको संरचना र स्थानबारे पहिल्यै परिचित व्यक्तिहरू भएको प्रारम्भिक प्रमाणले देखाउँछ।
उनले भने, “सीसीटीभीमा देखिएकाहरूको अधिकांश पहिचान भइसकेको छ। घटनामा संलग्न धेरैजना क्यासिनो खेल्ने या आपराधिक पृष्ठभूमि भएका युवा देखिन्छन्।”
क्यासिनो सञ्चालकले जिल्ला प्रहरी परिसर, काठमाडौंमा दिएको जाहेरी अनुसार—
१४ करोड रुपैयाँ नगद लुटिएको छ।
साथै, करिब ४० करोड रुपैयाँ बराबरको धनमाल (मेसिन, टेबल, सजावट, इलेक्ट्रोनिक्स) नष्ट भएको छ।
प्रहरी उपरीक्षक पवन भट्टराईले जाहेरी दर्ता भइसकेको र घटनाको गहिरो अनुसन्धान भइरहेको पुष्टि गरेका छन्।
प्रहरीका प्रारम्भिक निष्कर्ष अनुसार, क्यासिनोमा तोडफोड र लुटपाट गर्ने समूहमा—
क्यासिनोमा नियमित हुने खेलाडीहरूको एउटा हिस्सा,
र केही आपराधिक पृष्ठभूमि भएका युवा,
प्रमुख रूपमा देखिएका छन्। प्रहरीले पहिचान भइसकेका व्यक्तिहरूलाई क्रमिक रूपमा नियन्त्रणमा लिने तयारी गरेको छ।






