काठमाडौँ । नेपाल–भारतबीच ‘रोटी–बेटी’को सम्बन्ध पुरानै मानिन्छ। तर मधेशमा पछिल्ला दिनमा चिनियाँ नागरिकसँग समेत विवाह गरिने नयाँ प्रवृत्ति देखिन थालेको स्थानीयस्तरका घटनाले देखाएको छ।
बारामा प्रहरीले चिनियाँ नागरिक र मुस्लिम समुदायकी एक नेपाली नाबालिकाबीच बालविवाह गर्न खोजिएको घटना रोकेपछि यो विषय झनै चर्चामा आएको हो।
करैयामाई गाउँपालिका–१, हरैयाबाट बुधबार मध्यराति विवाह समारोह चलिरहेको अवस्थामा बेहुला–बेहुली र बेहुलीका बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय, कलैयामा राखी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिएका छन्।
चिनियाँ नागरिकसँग वैध पासपोर्ट र भिसा रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। तर उनीहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन।
गाउँमा अचम्म: एक वर्षमै तीनवटा विवाह
स्थानीय बासिन्दाका अनुसार मधेशमा भारततर्फ विवाह गर्ने चलन पुरानै भए पनि चिनियाँ नागरिकसँग विवाहको घटना भने नयाँ र चकित बनाउने खालको भएको छ।
एक स्थानीयले बताएका छन्, “यस्ता विवाहहरू आर्थिक प्रलोभनमा बिचौलियाले मिलाइदिन्छन्।”
प्रहरी स्रोतका अनुसार गत एक वर्षयता त्यही गाउँमा तीन जना चिनियाँ नागरिकसँग विवाह गराइएको तथ्य फेला परेपछि घटना प्रहरीको थप ध्यानाकर्षणको विषय बनेको छ।
प्रहरीले यो घटनामा बालविवाह, मानव तस्करी वा आर्थिक लेनदेन भएको सम्भावना मात्रै नभई यसलाई व्यवस्थित रूपमा चलाउने बिचौलियाको संलग्नता समेत भएको शंका गरिरहेको छ।
घटनाको विस्तृत अनुसन्धान जारी छ।






