धरान – नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोटको विवादका कारण धरानमा युवा प्रतिनिधि उम्मेदवारमाथि कुटपिट भएको छ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका अनिल राजधामीमाथि निर्घात कुटपिट भएको हो। राजधामी एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल गुटसँग नजिक छन् र पूर्वमन्त्री भीम आचार्यको स्वकीय मानिन्छन्।

प्रत्यक्षदर्शीका अनुसार, राजधामीले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेपछि संस्थापन पक्षका केही कार्यकर्ताले उनलाई कुटेर बाटोमा निकालेको बताइएको छ।

युवातर्फको प्रतिनिधि उम्मेदवारीमा राजधामीसहित रवि खनाल, आर्जन वाग्ले, योगेशबाबु काफ्ले र दिवस वान्तवा राईले उम्मेदवारी दर्ता गरेका थिए। बिहीबार दिउँसो सर्वसम्मत गर्ने उद्देश्यले छलफल बोलाइएको थियो।

एमाले धरान स्रोतले भनेका छन्, “निर्वाचन नगर्ने निर्णय पार्टी नेतृत्वले कागजमा चार जनालाई सही गराइसकेको थियो, तर उनले अस्वीकार गरेपछि कुटपिट भएको हो। त्यसपछि पार्टीले गरेको निर्णय मान्य हुन्छ भन्ने कागजमा सहीछाप गराइएको छ।”

धरान नगरकमिटी अध्यक्ष हर्कराज एभेङले भने कि युवा प्रतिनिधि उम्मेदवारबीचको विवाद सामान्य थियो र मिलापत्र भइसकेको छ। उनले भने, “युवाहरुबीच सामान्य विवाद हुनु स्वाभाविक हो। कुरा मिलाएर उपचारपछि राजधामी घर फर्किसकेका छन्।”

राजधामी धरानको विजयपुर अस्पतालमा उपचारपछि घर फर्किएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय