उच्च अदालत पाटनले भेपमार्फत सुन तस्करी प्रकरणमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीश अर्जुन प्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले महरालाई पुर्पक्षका लागि थुनाबाट छाड्न आदेश दिएको हो।
यसअघि असोज २९ गते जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सोही आदेशविरुद्ध उनले उच्च अदालतमा निवेदन दर्ता गरेका थिए।
२०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङले इलेक्ट्रोनिक चुरोट (भेप) भित्र लुकाएर ल्याएको सुन सम्बन्धी प्रकरणमा महराको संलग्नता र लगानीको आशंकाका आधारमा सीआइबीले अनुसन्धान गरेको थियो।
महराले भने सो प्रकरणमा आफ्नो कुनै भूमिका नरहेको दाबी गर्दै आएका छन्।
सरकारी वकिलको कार्यालयले महराविरुद्ध सङ्गठित अपराध निवारण ऐन र भन्सार ऐनअन्तर्गत कारबाही सम्बन्धी मुद्दा दायर गर्दै ८ करोड ५५ लाख २८ हजार रुपैयाँ बिगो मागदाबी लिएको थियो।






