रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी र संगठित अपराध मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडिया सञ्चालक छविलाल जोशीको मुद्दामा आज पनि सुनुवाइ स्थगित भएको छ।
आज उच्च अदालत तुलसीपुर बुटवल इजलासमा न्यायाधीश मिलन कुमार राई र सानुमैया डंगोलको इजलासमा पेशी तोकिएको थियो।
तर, लामिछाने पक्षका कानुन व्यवसायीले स्थगितको निवेदन दिएपछि सुनुवाइ नहुने भएको हो।
एक साताअघि पनि स्थगित
यसअघि मंसिर ४ गते पनि लामिछाने तर्फकै कानुन व्यवसायीले स्थगित मागेपछि सुनुवाइ रोकिएको थियो।दुवै प्रतिवादीको मुद्दा एउटै इजलासमा एकैपटक सुनुवाइ हुँदै आएको छ।
सहकारी ठगी आरोपमा अभियोगपत्रले १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो देखाएको छ।
लामिछानेले त्यसको एक चौथाइ (२ करोड ७४ लाख ८४ हजार रुपैयाँ) बैंक जमानतका रूपमा दाखिला गरेका थिए। तर, रुपन्देही जिल्ला अदालतले रिहा गर्न अस्वीकार गरेको थियो।
जोशीले पनि उस्तै रकम बिगोबापत जमानत पेश गरे पनि दुवै प्रतिवादीको व्यक्तिगत बिगो कति पर्छ भन्ने यकिन नभएकाले अदालतले रिहा गर्न नमिल्ने आदेश दिएको थियो।






