अमेरिकाको राजधानी वाशिंगटन डीसीमा ह्वाइट हाउसबाट करिब दुई ब्लक टाढा दुई नेशनल गार्ड सैनिकमाथि गोली प्रहार भएको छ। आक्रमणमा परेका दुवै सैनिक गम्भीर घाइते भएको अधिकारीहरूले पुष्टि गरेका छन्।
प्रहरीअनुसार आक्रमणकारी २९ वर्षीय अफगानी नागरिक रहमानुल्लाह लाकनवाल हुन्। उनी सन् २०२१ मा अमेरिकामा प्रवेश गरेका थिए।
फ्यारागट स्क्वायर मेट्रो स्टेशन नजिक १७औँ स्ट्रीट र ‘एक्स’ स्ट्रीटको मोडमा गस्तीमा रहेका सैनिकमाथि उनले आकस्मिक रूपमा गोली चलाएका थिए।
गोली चलेको आवाज सुनेपछि नजिकैका अन्य नेशनल गार्ड सदस्यले आक्रमणकारीलाई तत्काल नियन्त्रणमा लिन सफल भएका थिए।
एफबीआई निर्देशक काश पटेलले घटनालाई “अत्यन्त नृशंस र कायरतापूर्ण हमला” भन्दै कडा शब्दमा निन्दा गरेका छन्।
हमलामा प्रयोग गरिएको हतियार तथा आक्रमणको उद्देश्यबारे अनुसन्धान चलिरहेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणकारीलाई कडा भन्दा कडा सजाय दिने बताएका छन्।
गोलीकाण्डपछि केही समयका लागि ह्वाइट हाउस ‘लकडाउन’ गरिएको थियो।
पश्चिम भर्जिनियाका गभर्नर प्याट्रिक मोरिसीले सुरुवातमा दुवै सैनिकको मृत्यु भएको दाबी गरेका थिए।
तर, पछि उनले आफ्नो भनाइ सच्याउँदै दुवै जना जीवित भएको र उपचार जारी रहेकाे जानकारी दिएका छन्।
युद्धमन्त्री पिट हेगसेथका अनुसार राष्ट्रपति ट्रम्पले वाशिंगटन डीसीमा थप ५०० नेशनल गार्ड पठाउन निर्देशन दिएका छन्।
हाल राजधानीमा २,२०० भन्दा बढी नेशनल गार्ड सदस्य तैनाथ छन्।
यी गार्डहरू लुइजियाना, मिसिसिपी, ओहायो, साउथ क्यारोलाइना, पश्चिम भर्जिनिया, जर्जिया र अलाबामा राज्यबाट आएका हुन्।
यद्यपि नेशनल गार्ड ‘आरक्षित सैन्य बल’ भएकाले नियमित प्रहरीझैँ गिरफ्तारी गर्ने अधिकार उनीहरूलाई छैन।






